बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

१३ वर्षदेखि सालझण्डी ढोरपाटनको बागलुङ खण्ड अलपत्र

१३ वर्षदेखि सालझण्डी ढोरपाटनको बागलुङ खण्ड अलपत्र

बुर्तिवाङदेखि ढोरपाटन जाने २६ किमी र बडिगाड तथा निसीखोला खण्डमा झण्डै २० किमी गरी ४६ किमी सडक आयोजनाको कार्यक्षेत्रमा अलपत्रै परेको हो ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८१, बिहिबार

बागलुङ/सालझण्डी ढोरपाटन सडक आयोजनाले काम थालेको १३ वर्ष भयो । तर यो सडक खण्डको अझै २५ प्रतिशत काम पनि पुरा भएको छैन ।
तराइलाई हिमाली क्षेत्रमा जोड्ने छोटो बाटोको रुपमा यो सडकलाई लिइएको छ । साथै, ढोरपाटनसम्म पर्यटक लैजान सजिलो हुने भनेर कोरिएको सडकको खाका वर्षौसम्म पनि अलपत्र परेको हो । हरेक वर्ष धिमा गतिले काम गर्दा जुन उद्देश्येले सडकको रेखांकन भयो, त्यो उपलब्धी गुमिरहेको छ ।
अहिले पनि आयोजनाले ढोरपाटनलाई बेवास्ता गर्दा बागलुङ खण्डको झण्डै ४६ किमी सडक अलपत्र छ । सडक नबन्दा धुलो र हिलोको सास्तीले ढोरपाटन जाने यात्रीले दुःख पाइरहेका छन् । हिउँदमा ढोरपाटन घुम्ने पर्यटक धेरै पुग्छन् । आरक्ष कार्यालयका अनुसार पनि चालुवर्ष १० हजार बढीले टिकट काटेरै ढोरपाटन प्रवेश गरेका छन् । सडक स्तरीय नहुँदा सयौंले बर्षेनी यस्तै सास्ती भोगीरहेको बताए ।
सडक अप्ठ्यारो हुँदा सिकार आरक्षको सुरक्षार्थ बसेको सेनाको रासन लैजान समेत सास्ती छ । गाडी नचल्दा कतिपय सामाग्री मानिस लगाएर ढ्ुवानी गर्नुपर्ने बाध्यता छ । ढोरपाटनबासीले जेठ अन्तिम सातादेखि असारभर आलु खन्ने बेला भएको छ । सडक सहज नभएकै कारण बजार लैजान नसक्ने अवस्था आएको स्थानीय कुलदिप कायतले बताए । ‘बजार पठाउन नसकेपछि घरमै थुपारेर राख्नुपर्छ, समयमा पठाउन सकिएन भने आलु कुहिन्छ’ कायतले भने
सालझण्डी ढोरपाटन सडकमा सूचिकृत भएपनि आयोजनाले काम नगरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत बताउँछन् । ‘हामीले आयोजना कार्यालय रहेको अर्घाखाँची पुगेर पनि कुरा राख्यौं, तर काम भएन ।’ यहाँ दोहोरोपना हुने डरले नगरपालिकाले बजेट लगानी गर्न नसकेको उनले बताए ।
बुर्तिवाङदेखि ढोरपाटन सम्मको ग्रामीण सडकको पुरानै ट्रयाकलाई आयोजनाले कायम गराएको हो । गण्डकी प्रदेशका सदस्यहरुले पनि यो सडकमा छुट्टै लगानी गर्न खोजेका थिए । आयोजनामा दोहोरोपना आउने भएपछि उनीहरु पछि हटे । ‘आयोजनाले काम गरेको छैन, वडाबासीले बेलाबेला झराली लगाएर बाटो सफा गरेका छौं’ वडा नंं ८ का अध्यक्ष भद्रमणी बिकले भने ।
बुर्तिवाङदेखि ढोरपाटन जाने २६ किमी र बडिगाड तथा निसीखोला खण्डमा झण्डै २० किमी गरी ४६ किमी सडक आयोजनाको कार्यक्षेत्रमा अलपत्रै परेको हो । रुपन्देहीको सालझण्डीदेखि ढोरपाटन सिकार आरक्ष जोड्ने सडक आयोजनाका अनुसार अहिलेसम्म २५ प्रतिशत मात्रै काम भएको हो । २०६६ सालमा यो सडक आयोजना निर्माण शुरु भएको हो । १ सय ९७ किमी सडकमध्ये अहिलेसम्म १८ किमी मात्रै कालोपत्रे भएको छ । आयोजनाका अनुसार यो सडकमा अहिलेसम्म २ अर्ब ७० करोड लगानी भएको हो । चालुवर्ष आयोजनाको ४० करोड बजेट बिनियोजन छ । उक्त बजेट पनि बागलुङ खण्डका लागि विनियोजित छैन ।
आगामी बर्ष पुर्कोटदहदेखि बुर्तिवाङ तर्फको सडक ठेक्का लगाइने आयोजना कार्यालयकी प्रमुख अञ्जु परियारले बजेट नभएको र ठेक्का लगाएको खण्ड पनि काम नगरिदिएको टिप्पणी गरिन् । ‘आर्थिक मन्दीले बजेट नै कम भयो, त्यसैले कतिपय स्थानमा लगानी गर्नै सकिएन’ परियारले भनिन्, ‘ठेकेदारको पनि लापरबाही भैरहेको छ ।’ बुर्तिवाङ देखि ढोरपाटन तर्फको २२ किमी खण्डमा ठेक्का लिएको स्वच्छन्द ओमबुद्ध संयुक्त निर्माण कंपनीले काम अलपत्र पारेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->