बागलुङ/बरेङ गाउँपालिका–१ हुग्दीशिरकी ७५ वर्षीया खगिश्वरा राना बुधबार दिनभर जिल्ला प्रशासन कार्यालय बागलुङ परिसरमा लाइनमा बसिन् । राष्ट्रिय परिचयपत्र शाखा अगाडि लाइनमा उभिएकी रानाजस्तै जेष्ठ नागरिकहरुको प्रशासनमा भीडभाड थियो ।
दीर्घरोगी राना राष्ट्रिय परिचयपत्रकै फाराम भर्नका लागि चितवनदेखि सिधै बागलुङ बजार आएकी हुन् । परिवारसहित आएकी उनलाई समयमा फाराम नभरे सामाजिक सुरक्षा भत्ता नपाइएला कि भन्ने चिन्ता थियो । प्रशासन आउनुपूर्व उनीहरुले वडा कार्यालयमा आगामी आर्थिक वर्षको लागि सामाजिक सुरक्षा भत्ता नविकरण गर्न भनेका थिए । वडा कार्यालयले राष्ट्रिय परिचयपत्र मागेपछि उनीहरु प्रशासन आएका हुन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २८ जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । यो सूचना बागलुङका लागि थिएन् । तर, समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन बागलुङमा जेष्ठ नागरिकको भीड लागेको हो । राष्ट्रिय परिचयपत्र नहुँदा भत्ता रोकिने हल्लाकै भरमा जेष्ठ नागरिकको प्रशासनमा भीड लागेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
‘हामीले जनशक्ति थप गरेर भएपनि व्यवस्थापन गरिरहेका छौं, पालैपालो गर्दा पनि ढिला भैसकेको होइन् तर २८ जिल्लालाई अनिवार्य गरेको हल्लाले बागलुङलाई छोयो,’ बरालले भने ‘विभागले दोस्रो चरणमा वडा तहमै शिविर सञ्चालन गर्ने भनेकाले आत्तिनु नपर्दैन ।’
गाउँमा शिविर जाँदा छुटेका, भर्खरै नागरिकता बनाएका र राहदानी बनाउनु पर्ने युवापुस्ता एकै पटक राष्ट्रिय परिचयपत्रको लाइनमा बस्दा भीड बढेको उनले बताए । विभागले सूचना जारी गर्दै २४ जेठको मन्त्रिपरिषद्को निर्णयअनुसार समाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने व्यवस्था गरेको थियो ।
विभागले ४ वर्षदेखि ७३ जिल्लाका स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन गर्दै आएको छ । अहिले सबै जिल्ला प्रशासन, ५४ इलाका प्रशासन तथा विभिन्न जिल्लाका स्थानीय तहमार्फत राष्ट्रिय परिचयत्रको विवरण संकलन गरिरहेको छ ।
विभागबाट ती जिल्लामा विवरण दर्ताका लागि जनशक्ति थप गरी स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासनले पालिका र वडास्तरमा अभियान सञ्चालन गरेर विवरण दर्ता गर्ने कार्य भइरहेको विभागले जानकारी दिएको छ ।





