बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यास नगरपालिकाको पुनः मतगणना रोक्न रजिस्ट्रार कुइँकेलले किन दिए आदेश ?

व्यास नगरपालिकाको पुनः मतगणना रोक्न रजिस्ट्रार कुइँकेलले किन दिए आदेश ?


  • ढोरपाटन संवाददाता
  • असार १ २०८१, शुक्रबार

पोखरा / पोखरा उच्च अदालतका रजिस्ट्रार अच्युत कुइँकेलले तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना रोक्न आदेश दिएका छन्।

यसअघि सोही उच्च अदालतका दुई न्यायाधीशको इजलासले पुनः मतगणनाका लागि दिएको आदेश तत्काल कार्यान्वयन रोक्न रजिस्ट्रार कुइँकेलले शुक्रबार अर्को आदेश जारी गरेका हुन्।

उच्च अदालतले यसअघि गरेको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन परेकोले तत्काल रजिस्ट्रारबाट स्थगनको आदेश भएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले ढोरपाटनलाई बताए।

गत जेठ १ गते व्यास नगरपालिकाको पुनःमतगणना गर्न उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले आदेश दिएको थियो।

निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ। असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै अदालतले नै तिथिमिति तोकिदिएको थियो।

२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए।

हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले पुनः मतगणना रोक्न उच्च अदालतमा निवेदन दिएका थिए। उनको निवेदनमा शुक्रबार नै मिलनकुमार राई र अमृतकुमार बस्नेतको इजलासमा सुनुवाइ भएको थियो।

उक्त इजलासले आवश्यक निकासा दिन भन्दै रजिस्ट्रारलाई आदेश दिएको थियो। रजिस्ट्रार कुइँकेलले असार २ गते बिहान १० बजेदेखि हुन लागेको पुनः मतगणना स्थगित गर्न आदेश दिएका हुन्।

रजिस्ट्रार कुइँकेलको आदेश बदरका लागि इजलासमा जाने अधिकार अर्को पक्षसँग सुरक्षित रहेको अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->