
बागलुङ/जेष्ठ नागरिक दुव्र्यवहारविरुद्ध जागरुकता दिवस बागलुङमा पनि मनाईएको छ । जेष्ठ नागरिक संघ बागलुङले अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गरी दिवश मनाएको हो ।
कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जेष्ठ नागरिकको संरक्षण र सम्मान गर्नु सबैको दायित्व भएको बताए ।
गाँस र बासभन्दा पनि जेष्ठ नागरिकको कुरा सुन्ने मान्छेको अभाव हुने गरेको चर्चा गर्दै प्रजिअ सुवेदीले जेष्ठ नागरिकप्रति परिवार पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए । जेष्ठ नागरिकको सहजताका लागि प्रशासनबाट प्रवाह हुने सेवा जेष्ठ नागरिकमैत्री बनाईएको सुवेदीले दाबी बताए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठ र कृष्णप्रसाद निउरेले जेष्ठ नागरिक सम्बन्धी कानुनी व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । वक्ताले बढ्दो प्रविधिसंगै छोराछोरीले अभिभावकप्रतिको दायित्व र जिम्मेवारी भुल्दै गएको गुनासो गरेका थिए ।
बागलुङ नगरका उप–प्रमुख राजु खड्का, बानपा २ का वडा अध्यक्ष सुरज बोसेल, सिवाईसी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेल, समाजसेवी देब बहादुर श्रेष्ठ र जेष्ठ नागरिक पोटकुमारी जिसीले कार्यक्रममा धारणा राखेका थिए । कार्यक्रम जेष्ठ नागरिक संघका अध्यक्ष चिरञ्जीवी कुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष महेन्द्रसिहँ रायमाझीको स्वागत र सचिव बद्रिप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।





