बागलुङ/गुहेली संचार सहकारी संस्थाले बागलुङबाट प्रकाशित गर्दै आएको जननिगरानी साप्ताहिकको सातौं वार्षिकोत्सव आइतवार सम्पन्न भएको छ । स्थानीय तहको कार्यान्वयनपछि काठेखोलालाई आधार मानेर खुलेको साप्ताहिकले अहिले जिल्लाभरका समाचार प्रकाशन गर्दै आएको छ ।
सातौं वार्षिकोत्सव आइतबार काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले उद्घाटन गरे । उनले संचार माध्यमहरु निश्पक्ष बन्नुपर्ने बताए । साथै कसैको पक्षमा मात्रै लाग्ने नभइ सबैको बन्नुपर्ने भन्दै स्थानीय सरकारले गरेका सबै कामको समाचार बाहिर ल्याउन पनि आग्रह गरे ।
राम्रा कामको मात्र लेख्ने भन्ने होइन भन्दै नराम्रा काम भएका भएपनि खबरदारी गर्न नछुटाउन उनले आग्रह गरेका थिए । साथै पछिल्लो समय बढेको भ्रष्टाचारका बिषय खोजी गर्न पत्रकारलाई आग्रह पनि गरेका छन् । ‘देश डुवाएको भ्रष्टाचारले हो, त्यस्ता बिषय खोजी खोजी लेख्नुपर्छ’ थापाले भने, ‘देश डुवाउनेको पनि निगरानी आवस्यक छ ।’ संचारमाध्यम र पत्रकार कसैको झोले नबन उनले सुझाए । आम नागरिकको विश्वास समेत पत्रकारितामा भएकोले सत्य लेख्न पत्रकार डरायो भने देशमा बेथिती मौलाउने बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले राष्ट्रियता जोगाउने काममा पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै संचारमाध्यमले देशको अस्तित्व जोगाउन भूमिका खेल्नुपर्ने बताए । उनले पत्रकारिताले समाजलाईपनि सही दिशा दिन सक्ने धारणा समेत राखे । आर्थिक संकटले संचार क्षेत्रको भूमिका खुम्चिने अबस्था आउन नदिन सबैको चासो र साथ चाहिने उनको धारणा थियो ।
गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, सह–सचिव तारानाथ आचार्यको संचालन र सचिव सूर्य थापाको स्वागतमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष अमर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडा अध्यक्षहरु बिद्यापति शर्मा र लक्ष्मण पुन, राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसी, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दिपक गौतम, पत्रकारहरु राजेशचन्द्र राजभण्डारी, बिजय राना र सिर्जना पन्तले पनि शुभकामना मन्तव्य राखेका थिए । उक्त अबसरमा पत्रिका प्रकाशनमा योगदान दिने पत्रकारहरु प्रकाश बराल, संगम घर्ति, सिर्जना पन्त, तारानाथ आचार्य, सुवास गौतम र काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विकलाई सम्मान गरिएको थियो ।





