म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानामा यूवापुस्ता पुख्यौली नाचको संरक्षणमा सक्रिय भएपछि मादल सहयोग गरिएको छ । पछिल्लो समय यूवाहरु आधुनिक फेसनमा रमाइरहेको अवस्थामा दाना पुख्यौली समुहमा यूवाहरु आवद्ध भएर नाच संरक्षणमा जुटेपछि समुदायस्तरबाट समेत सहयोग गर्न थालेका छन् ।
पुख्यौली समुहलाई शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचनले तीनवटा मादल सहयोग गदैं आगामी दिनमा समेत सहयोगको प्रतिबद्धता जनाएका छन् । ’पुख्यौली समुहलाई जोगाउने दाहित्व सबै दानाबासीको हो, समुहको हौसलाका लागि सक्ने सहयोग गर्नुपर्छ’अध्यक्ष तुलाचनले भने ।
पुख्यौली समुहमा आवद्ध भएका यूवाहरुलाई तालिम तथा आवश्यक साम्रागीहरु सहयोगले सहज हुने तुलाचनको भनाई छ । बि.स २०७५ साल पुस अन्तिम साता शैक्षिक, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रर्वधन गर्ने उद्देश्यले शुक्रबादेखि शिक्षा विकास कोषको मुल आयोजन तथा वडा कार्यालय र ज्ञानप्रकाश माविको आयोजनामा पुख्यौली नाच प्रतियोगिता समेत भएको थियो ।
पुख्यौली नृत्यमा मादले र मारुनीको भूमिका महत्वपूर्ण हुन्छ । एउटा गीतको टुक्का निकालेपछि अरूले त्यसलाई पछ्याउँदै गाइन्छ । पुरुष नै महिलाको पहिरनमा सजिएर नाचिने भएकाले यो नृत्यलाई मारुनी नृत्य पनि भनिन्छ ।
नाचको सुरुमा सरस्वती जगाइन्छ, त्यतिबेला केहीलाई सरस्वती जाग्ने हुँदा काँम्नेसमेत हुन्छ । गीतमार्फत राम–लक्षणका वाणीहरू र सरस्वतीलाई सम्मानपछि काम्ने हराउँदै जान्छ । मेला महोत्सवसँगै विवाह, व्रतबन्धलगायतका शुभकार्यमा यो नृत्य प्रस्तुत गर्ने गरिन्छ । पुख्यौली र थाली नाच म्याग्दीको पहिचान हो ।





