पोखरा/गत वैशाखमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा अनुगमन भयो । अस्पतालकै चमेनागृहमा उत्पादक, उत्पादन मिति, म्याद सकिने समयलगायत लेबल टाँस नभएको खाद्यबस्तु भेटियो र ४० हजार रुपैयाँ जरिवाना लगाइयो ।
प्रशासनले त्यस्तो कार्य सुधार गरी अघिबढ्न सुझावसमेत दियो । तर,चमेनागृह संचालनकको व्यवहार सुध्रिएन । आइतबार अस्पतालमा पुगेका रुपा गाउँपालिकाका अनिश ठकुरी क्यान्टिनबाट बिरामीका लागि ‘सुगर फ्री’ बिस्कुट किने । पत्थरी र मधुमेहबाट पीडित आफन्तलाई औषधिभन्दा अघि बिस्कुट खुवाउनु थियो । बिरामीले बिस्कुट टोक्नासाथ गन्ध आयो स्वाद अर्कै आयो । मिति हेर्न लगाउँदा म्याद गुज्रिएको फेला प¥यो । अनिशले क्यान्टिन पुगेर बिस्कुटको म्याद सकिएको गुनासो गरे । अनिशले जिल्ला प्रशासन कार्यालयमा टेलिफोन गरी गुनासो टिपाए । खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय कास्कीको टोली त्यहाँ पुग्दा भने म्याद गुज्रिएको बिस्कुट लुकाइयो । क्यान्टिन खुश्बुकुमारी शाहको नाममा रहेको छ । वैधानिक रुपले दर्ता गर्दा सो चमेनागृहको नाम ‘सुनिल क्यान्टिन तथा खुद्रा कपडा पसल’ रहेको थियो । तर, बोर्डमा भने ‘गण्डकी हस्पिटल चमेनागृह’ रहेको छ ।
उपभोक्ताको अत्यधिक गुनासो आउने उक्त क्यान्टिन कारवाहीमा परेको पहिलो पटक भने होइन । पटकपटक कारवाहीमा परेको छ । अनुगमनपश्चातको कारवाही फितलो हुँदा क्यान्टिनले अटेरी गर्दै उपचारका लागि अस्पताल आउने सेवाग्राहीकै स्वाथ्यमा गम्भीर खेलबाड गरिरहेको बिरामीका आफन्तहरुको गुनासो छ ।
‘कान्छीमुमा पत्थरीको बिरामी हुनुहुन्थ्यो । सुगरको पनि समस्या भएकाले यहाँ आएर सुगर फ्री विस्कुट किनेर लगेँ । खोलेर खाँदा अमिलो भएछ त्यसपछि मलाई भन्नुभयो,’ अनिशले भने,‘ ‘मैले डेट हेरँे । तीन महिना एक्सापयर( म्याद गुज्रेको) भइसकेको रहेछ । यहाँ कुरा गर्दा एकचोटीलाई यस्तो भयो माफी पाऊँ भन्दै हुनुहुन्थ्यो तर अस्पताल जस्तो संवेदनशील ठाउँमा त्यसो भनेर पाइँदैन अन्यत्र भए ठीकै हो भन्न हुन्थ्यो ।’ उनले सरकारी अस्पतालमा प्रशासनमा फोन गरेपछि भने कर्मचारीले सबै विस्कुट लुकाएको जिकिर गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले क्यान्टिन तेस्रोपटक कारवाहीमा परेको जानकारी दिए । यसअघि अनुगमन गरेर कारवाही गरे पनि अहिले भने उपभोक्ताले नै गुनासो गरेपछि अनुगमन गर्दा लेबल नभएको र म्याद गुज्रिएको अखाद्य बस्तु फेला परेको उनको भनाइ छ । यसअघि ४० हजार रुपैयाँ जरिवाना गरिएको थियो । स्वाथ्यसंस्थाजस्तो संवेदनशील ठाउँमा उपभोक्ताको हित विपरीत कार्य गर्नु गलत रहेको र पटके कारवाही गर्ने उनको भनाइ छ ।
खाद्य निरीक्षक दीपक कुँवरले खाद्यमा हाल्न नहुने रसायनसमेत भेटिएको जानकारी दिए । उनले म्याद गुज्रिएको सामान फेला परेको जानकारी प्रशासनबाट आएपछि आफूहरुसमेत पुगेको र एक प्याकेट बिस्कुट भेटेको सुनाए । अनुगमन गर्दा ज्योति हाइड्रो नाम गरेको रसायन र लेबल नभएका दुनोटहरु भेटिएको उनको भनाइ छ ।
‘प्रशासनबाट खबर आएपछि हामी पनि पुगेका थियौं । म्याद गुज्रिएको बिस्कुट एक प्याकेट भेट्यौँ, लेबल विवरण नभएको दुनोट देखियो १० पोका र जेरीमा प्रयोग गर्ने हाइड्रो रसायन भेटियो,’ उनले भने । आफ्नो कार्यालयलाई कारवाहीको अधिकार नहुँदा स्थलगत रुपमा कारवाही गर्न नमिल्ने उनले सुनाए । ‘हामीले नमुन लिएर प्रयोगशालामा पठाउँछौं । रिपोर्ट आएपनि सम्बन्धित निकायलाई कारवाहीका लागि सिफारिस गर्ने हो । हामीलाई स्थलगत कारवाही गर्ने अधिकार छैन,’ उनले भने ।





