बागलुङ/सदरमुकाम बागलुङ बजारबाट सिधै दैनिक ५० भन्दा बढी वडाका मुकाम गन्तव्य बनाएर दर्जनौं जिप तथा पिकअप गाडी चल्छन् । बुर्तिवाङ, गलकोट र कुश्मीसेराबाट बाँकी वडामा पुग्ने पिकअप जिप पाइन्छन् ।
ती गन्तव्यमा दैनिक सयौं मानिसको आवतजावत समेत हुन्छ । सदरमुकामबाट हरेक दिन दिउँसो ती स्थानमा जाने पिकअप र जिप छुट्छन् । बिहान वडाबाट सदरमुकाम आउनेको लर्को लाग्छ । तर ती अधिकांस गन्तव्य रुट परमिट नभएका स्थान हुन् ।
रातो प्लेटका पिकअप गाडीले यात्री ओसार्ने अधिकांस स्थान नै परमिट नभएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले बताए । रातो प्लेटका सवारी साधनले यात्री ओसारपसार गर्न नपाउने कानूनी प्रावधान छ । तर, बागलुङका अधिकांस वडामा रातो प्लेटकै गाडीले सामानसँगै यात्री पनि बोक्ने गरेका हुन् । ती अधिकांस सडक रुट परमिट नभएका स्थान हुन् ।
सदरमुकामदेखि गलकोटहुँदै बुर्तिवाङ सम्मको ९१ किमी, बुर्तिवाङदेखि १० किमीको बोङगादोभान र बागलुङदेखि ९९ किमीको जुग्जाखोलाका लागि रुट कायम छ । सदरमुकामदेखि २१ किमी दक्षिणको जैमिनी १ को कुश्मीसेरा र कुश्मीसेराहुँदै राङखानी र बरेङ गाउँपालिकाको हुग्दीशिर सम्मको ५३ किमी तथा बागलुङदेखि सिगानाहुँदै हुग्दीशिरको ४१ किमी सडक मात्रै परमिटमा परेको छ । त्यस बाहेक बागलुङदेखि ताराखोला गाउँपालिका केन्द्र रहेको भातखाने डाँडा सम्मको ४२ किमी र गलकोटदेखि ताराखोला १८ किमीको मात्रै रुट मरमिट कायम भएको हो ।
भाडादर निर्धारण गर्ने जिल्ला समितिले सोमबार २१ स्थानको भाडादर समायोजन गरेको छ । ती स्थानमा चल्ने बस र जिपको भाडा दर कायम गरिएको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताए । अबदेखि मनोमानी भएमा ती स्थानको भाडा अनुगमन गर्ने र कारवाही गर्ने सुवेदीले जानकारी दिए ।
तर परमिट नभएका दर्जनौं स्थानको भने भाडा कायम हुन नसकेको हो । भाडा कायम नभएपनि पिकअप जिपले मनोमानी गरिरहेका छन् । ‘सडक राम्रो नभएकोले परमिट दिन सकिएको छैन’ यातायात व्यवस्था कार्यालयकी प्रमुख गुमादेवी शर्माले भनिन्, ‘आँफूखुसी चलाएका गाडीले केही सहज भएपनि जोखिम पनि उत्तिकै छ ।’
सदरमुकामदेखि जैमिनी नगरको जैदी, छिस्ती, अर्जेवा, बिनामारे, पैयुँथन्थाप र दमेकसहित बरेङको बाटाकाचौर, तमानखोलाको सोलेडाँडा र नर्जाखानी लगायतका दर्जनबढी परमिट नभएका स्थानमा रातो प्लेटका गाडी चल्ने गरेका हुन् । मनोमानी भाडा असुल गरेका ती स्थानबारे समितिले कुनै निर्धारण नगरेको हो ।
ग्रामीण क्षेत्रमा रातो प्लेटका गाडिले सामान सहित भाडा असुल्दै यात्री लैजाने गरेका छन् । उक्त स्थानमा हुने जोखिमबारे जिप व्यवसायी र धौलागिरि, गण्डकी यातायात कंपनीले कुनै जिम्मेवारी नलिने कम्पनीका अध्यक्ष उमेश केसीले बताए । ‘रुट नभएको स्थानमा हामीले कालो प्लेटका जिप र बस चलाएका छैनौं’ उनले भने, ‘ती स्थान जोखिमका छन् त्यसैले हामीले यात्री लैजाने अनुमति माग्न र प्रशासनले दिन पनि सकेको छैन ।’ प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ ले पनि परमिट भएको स्थानको मात्रै समितिमार्फत भाडादर कायम हुने व्यवस्था गरेको छ ।





