तस्बिर : संगीता रेग्मी
बागलुङ/देशको कुल बजेटमा पूजिगत बजेट न्यु्न छ । तर पनि सरकारी कार्यालयहरुले उक्त बजेट समयमा खर्चिन असमर्थ छन् । विकासे अड्डाले पनि खर्च गर्न नसक्दा देशको पूर्वाधार क्षेत्र माथी उठ्न नसकेको हो । समयमा खर्च गर्न नसक्दा आगामी वर्षका बजेट पनि घट्दो अवस्थाका छन् ।
पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट १ अर्ब ६ करोड १७ लाख थियो । जेठ सकिंदा पूर्वाधारले ५१ करोड ६३ लाख खर्चेको छ । यो ४८ प्रतिशत खर्च हो । जलश्रोत तथा सिंचाइ विकास डिभिजनले विनियोजन गरेको ८ करोड ४२ लाख बजेटमा ४३.३ प्रतिशत मात्रै खर्च गरेको छ ।
ढोरपाटनस्थित बुर्तिवाङ नयाँ सहरी आयोजनाले चालुवर्ष राखेको लक्ष्य ७ करोड १६ लाख बजेटमा पूजिगत खर्च ३ करोड ८० लाख छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले चालुवर्ष खर्चनुपर्ने ६३ करोड ५६ लाख बजेटमा जेठ मसान्तसम्म ३० करोड ६८ लाख मात्रै खर्चेको हो । सडक डिभिजनले चालुवर्ष ७५ प्रतिशत बजेट खर्चेको छ । २६ करोड ९६ लाख बजेटमा जेठ मसान्तसम्म २० करोड २८ लाख खर्चेको प्रमुख कोष तथा लेखा नियन्त्रक धर्मभक्त बस्यालले बताए ।
बस्यालका अनुसार जेठ महिना सकिंदा बागलुङका विकासे कार्यालयको पूँजिगत खर्च ५५ प्रतिशत छ । यो अबधिमा उनीहरुले चालु खर्च ८५ प्रतिशतसम्म गरेका छन् ।
गलकोट नगरपालिकाको प्रशासकीय भवनको आगामी पुस मसान्तभित्र काम सक्नुपर्ने गरी ठेक्का लगाइएकोमा अहिलेसम्म २० प्रतिशत प्रगती भएको छ । १२ करोड ४१ लाख खर्चनुपर्ने भवनको म्याद सकिन ७ महिना बाँकी रहँदा २ करोड ४८ लाख पेश्की लगेका ठेकेदारले १ करोड ६७ लाख रुपैयाँ मात्रै भुक्तानी लगेका छन् । यस्ता धेरै योजनाहरु खर्च गर्न नसकेर अलपत्र छन् । कतिपय योजनाको बजेट फ्रिज हुँदा नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता छ ।
आयोजना संचालन गर्ने सरकारी कर्मचारीले असारमा धेरै रकम खर्च हुने बताए । ‘योजनाहरुमा धेरै काम भएका छन्, तर अन्तिम भुक्तानी असारमा हुँदा खर्च बढी देखिन्छ’ सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयकी प्रमुख सुनिता श्रेष्ठले भनिन्, ‘ठेक्कामा लगाएका कामहरु समयमा नसकिंदा खर्च कम देखिएको हो ।’ कतिपय कार्यालयले भने सालबसाली काम गर्दा खर्च गर्नै नसकेको श्रेष्ठले बताइन् ।
जिल्लामा संघिय बजेटमार्फत काम गरेका कार्यालयले पनि ६७ प्रतिशत मात्रै प्रगती देखाएका छन् । चाल वर्षका लागि आएको १ अर्ब २७ करोड ४८ लाख पूजिगत बजेटमा जेठ मसान्तसम्म ८१ करोड ८५ लाख मात्र खर्चन सकेका हुन् । सोही अवधिमा गण्डकी प्रदेश मातहतका विकासे कार्यालयले १ अर्ब ९० करोड बजेटमा १ अर्ब ४ करोड रुपैयाँमात्रै खर्च गरेका हुन् । जुन ५५ दशमलब २० प्रतिशत हो । चालु वर्षका लागि सरकारले विनियोजन गरेको ३ खर्ब २ अर्ब पूजिगत बजेटमा १ खर्ब ३२ करोड रुपैयाँ मात्रै खर्च भएको हो ।





