बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तमानखोलाको लक्ष्य : जडिबुटीको अनुसन्धानपछि बजारीकरण

तमानखोलाको लक्ष्य : जडिबुटीको अनुसन्धानपछि बजारीकरण

सोलेमा बनाइने केन्द्रमा ढोरपाटनसम्म पाइने जडिबुटीहरु संकलन गरिनेछ ।


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८१, मंगलबार

बागलुङ/घना जंगलभित्र दर्जनौं प्रकारका जडिबुटी छन् । तर, ती जडिबुटीबाट स्थानीय सरकार र जनताले कमाइमा रुपान्तरण गर्न सकेका छैनन् । तमानखोला गाउँपालिकाले भने अब जडिबुटी पहिचान, प्रचारप्रसार, प्रवद्र्धन र बजारीकरणमा काम गर्ने भएको छ । पूर्वाधार विकाससँगै तमानखोलाले छिमेकी म्याग्दीको सिमानामा रहेको सोलेडाँडामा जडिबुटी संकलन तथा अनुसन्धान केन्द्र बनाएर जडिबुटीको बजारीकरण पनि गर्ने लक्ष बनाएको छ ।
अनुसन्धान केन्द्रका लागि प्रारम्भिक चरणको काम थालिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । चालु वर्षको नीति तथा कार्यक्रममा जडिबुटीको अध्ययन गर्ने विषय समावेश थियो । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दा सोलेडाँडामा जडिबुटी संकलन र अनुसन्धान केन्द्र बनाउने गरी काम शुरु भएको हो । जडिबुटी अध्ययनपछि कानून बनाएर बजारीकरण गर्न सकिने बुढाले सुनाए ।
पछिल्लो समय सोलेडाँडामा विकासका पूर्वाधार थपिएका छन् । चिसो हावापानी पाइने सोलेमा पर्यटकहरु घुम्न जाने चाहना राख्छन् । यो पहाड समुन्द्री सतहदेखि २ हजार ९ सय मीटरको उचाइमा छ । सहज सडक संजाल जोडिएकोले सोलेडाँडा पुग्न म्याग्दीको दरवाङ, बागलुङको बुर्तिवाङदेखि सवारी चढेर जान सकिन्छ ।
गाउँपालिकाले सोलेलाई पर्यटकीय स्थल, र सहिद पार्कको रुपमा विकास गरिसकेको हो । वडा नं. ४ को सोलेडाँडामा पाइने सबै प्रकारका जडिबुटीको नमूना संकलन गरेर अनुसन्धानको बाटो खोल्ने गरी केन्द्र बनाउन लागिएको हो । सोलेमा बनाइने केन्द्रमा ३ हजार ५ सय मीटरको ढोरपाटनसम्म पाइने जडिबुटीहरु संकलन गरिनेछ । सबैखाले जडिबुटीको खोजी गरेर नमूना संकलन गरी भण्डारन गर्ने र त्यसको महत्वबारे प्रचार प्रसार गर्ने लक्ष गाउँपालिकाको छ । ‘वैज्ञानिक रुपमा कुन जडिबुटीको के महत्व छ भन्ने पहिला बुझाउने र विज्ञबाट पहिचान गर्ने काम शुरु भैसकेको छ’ बुढाले भने, ‘आवस्यकता अनुसार लगानी थप्ने र बजारसँग जडिबुटी जोड्ने नै हो ।’ आगामी दिनमा ती जडिबुटीको बजारीकरणको लागि आवस्यक समन्वय समेत थालिएको अध्यक्ष बुढाले जानकारी दिए ।
धेरै रंगका लालीगुराँस फूल्ने सोलेबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे सम्मका हिमाली ऋखला देख्न सकिन्छ । अनुसन्धान केन्द्र बनेपछि पर्यटक समेत बढ्ने पालिकाको अपेक्षा छ । त्यसका लागि न्युनतम खाने र बस्ने खालका होमस्टे र होटल व्यवसाय संचालन गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि समावेश गरिएको उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताइन् । गाउँसभाबाटै यो क्षेत्रलाई पर्यटन प्रवद्र्धनको गन्तव्य बनाउने योजना बनाएपछि पूर्वाधारका काम शुरु भएका छन् ।
झण्डै २ करोड खर्च गर्ने गरी डिपिआर समेत बनेको सोलेमा अहिलेसम्म ५० लाख बढीका योजना सम्पन्न भैसकेका हुन् । चोरी तस्करी भएर यहाँको धेरै जडिबुटी बहिर गएको पाइएपछि संरक्षण, उत्पादन र बजारीकरणका दिगो योजना बनाउन पनि संकलन केन्द्रले साथ दिने बुढाको भनाई छ । यो पालिकाको केही खण्ड ढोरपाटन सिकार आरक्षमा जोडिएकाले भौतिक पूर्वाधार निर्माणदेखि जडिबुटी संकलनको काम गर्न आरक्षको अनुमति लिनुपर्ने कानूनी बाध्यता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->