बागलुङ/गत जेठ १ गते आफ्नै घरमा मृत भेटिएकी १७ वर्षिया बालिका (बागलुङ ६) को न्यायका लागि भन्दै गरिएको प्रदर्शनका क्रममा नीजि व्यवसाय तथा सरकारी सम्पत्ति तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रदर्शनका क्रममा दुई घण्टाका लागि आव्हान गरिएको बागलुङ बजार बन्दको कार्यक्रमलाई अबज्ञा गरेको भन्दै बजारका केही पसलमा तोडफोड भएको थियो । व्यवसायीको उजुरीका आधारमा प्रदर्शन तथा तोडफोडको नेतृत्व गरेको भन्दै प्रहरीले बागलुङ नगरपालिका वडा नं. १० का कृष्ण बहादुर भण्डारीलाई नियन्त्रणमा लिएको हो ।
उनीसहित तीन जनाबिरुद्ध प्रहरीमा उजुरी परेको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । भण्डारीलाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान भैरहेको उनले जानकारी दिए । बन्द आव्हानका बेला पसल सञ्चालन गरेको भन्दै बागलुङ बजारको हमाल भाँडा लगायतका पसलमा तोडफोड भएको थियो । बागलुङ ६ को हत्या गरिएको भन्दै उनको माईती पक्ष र सरोकारवालाले न्यायका लागि निरन्तर प्रदर्शन गरेका थिए ।





