बागलुङ/बागलुङ नगर स्तरीय बाल भेला बुधबार सम्पन्न भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा भएको भेलामा सबै विद्यालय र समुदाय स्तरमा गठन भएका बाल क्लबका प्रतिनिधि झण्डै एकसय जना सहभागि थिए ।
भेलाको उद्घाटन गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालअधिकारको लागि नगरपालिका अभिभावक बनेर काम गर्ने बताए । उनले छिट्टै बालमैत्री नगरपालिका बनाउन लािगएको जानकारी दिंदै कोही पनि बालबालिका पढ्न लेख्न, खान लाउन र अभिभावकबिहिन बन्न नपर्ने गरी काम गरिने बताए ।
उनले पहिला जस्तो जमाना नभएकोले हरेक बालबालिकाले अबदेखि सीपमा आधारित शिक्षा पाउनुपर्ने पनि उनको जोड थियो । श्रेष्ठले बालबालिकालाई पढ्दै कमाउँदै गर्ने वातावरण बनाउन नगरपालिका र सम्बन्धित विद्यालयले पहल गर्ने बताए । सीप नभए पढाइ मात्र भएर रोजगारी नपाइने र बैदेशिक रोजगारीमा मात्रै जाने अवस्था भएकोले बाल भेलाले बालबालिकाको सिर्जनशिलता खोजीमा पनि चासो राख्नुपर्ने सुझाए । बागलुङ नगरपालिकाले आगामी पुस मसान्त सम्ममा बालमैत्री नगर घोषणा गर्ने लक्ष्य राखेको छ ।
नगर बाल संजाल बागलुङका सदस्य बिबेक कंडेलको अध्यक्षता, महिला तथा बालबालिका शाखा प्रमुख सरस्वतीदेवी रेग्मीको संचालन र कार्यपालिका सदस्य ज्योती विष्टको स्वागतमा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक संघ जिल्ला अध्यक्ष चिरन्जिवी श्रेष्ठ, बरिष्ठ अधिवक्ता काजी गाउँले, सामाजिक अगुवा दुर्गाबहादुर आचार्य, देव बहादुर श्रेष्ठ, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल र नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
साथै, बालबालिकासँग जेष्ठ नागरिकको अन्तरसम्बाद कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गरे । कतिपय बालबालिकाले क्लबमा आबद्ध भएपछि क्षमता विकास गर्न पाएको खुसी साटासाट गरेका थिए ।





