बागलुङ/नीति तथा कार्यक्रममार्फत गलकोट नगरपालिकाले पूर्वाधारभन्दा नागरिक स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा स्वास्थ्यका दर्जनबढी कार्यक्रममार्फत नागरिकको स्वास्थ्यमा ध्यान दिईएको हो ।
कुनैपनि महिला गर्भवती हुनासाथ नगरपालिकाले निरन्तर निगरानीमा राखिने भएको छ । यसअघि नगरपालिकाले नियमित स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य संस्थामै सुन्केरी हुने महिलाले एकमुष्ट ४ हजार ६ सय रुपैयाँ रकम उपहार स्वरुप दिंदै आएको छ ।
हरेक गर्भवती र सुत्करीलाई नगरभित्रको सिस्टममा राखेर सबैको नियमित खोप, उपचार सेवा, नवजात शिशुको उपचार र पुर्ण खोप अभियानलाई पनि आफ्नै दायित्वमा राखिएको हो । टाढाबाट स्वास्थ्य संस्थामा आउनुपर्नेहरुका लागि सुत्केरी प्रतिक्षा घर बनाएर संचालनमा ल्याइने भएको छ । उनीहरुले सुत्केरी हुनुअघि र पछि साता दिनसम्म निशुल्क खानेबस्ने अवसर पाउने छन् ।
गलकोट नगर अस्पताललाई प्रभावकारी बनाउन बिशेषज्ञ सेवा बिस्तार गरिने भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । मुटु रोग सहितका नसर्ने रोगको नियमित शिविर संचालन गर्ने, ह्दयाघातको उपचार व्यवस्था नगरपालिकाले गर्ने छ ।
गैरेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बिपन्न नागरिकको उपचारमा नगरपालिकाले उपचार कोष स्थापना गर्ने बताए । गलकोट नगर अस्पतालबाट सहरी क्षेत्रमा रिफर गर्नुपरेमा नगरपालिकाले खर्चको जोहो गर्ने भएको हो ।
दुई वर्षदेखि संचालनमा आएको नगर अस्पताललाई नमूना बनाउन सबै प्रकारका रोगको उपचार गर्ने व्यवस्था मिलाईने छ । अस्पतालको प्रयोगशाला व्यवस्थित बनाउने र मध्यपहाडी लोकमार्गमा सहरी स्वास्थ्य केन्द्र पनि स्थापना गर्ने घोषणा गरिएको हो ।
त्यस बाहेक नगरपालिकाको स्वास्थ्य प्रोफाइल तयार गर्ने तयारी गरिएको छ । सबै वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी बनाउने अभियान पनि आगामी वर्ष पुरा गर्ने नगरपालिकाले लक्ष्य लिएको छ । भवन बन्न बाँकी वडा नंं १ र ७ मा बनाइनेछ ।
नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले सबै वडामा स्वच्छ खानेपानी पु¥याउने लक्ष्य राखिएको छ । सबै नागरिकको नसर्ने रोगको स्क्रिनिङ शिविर गर्ने, जेष्ठ नागरिकलाई घर घरमा स्वास्थ्यकर्मी पुगेर उपचार सेवा दिने र बिपन्नको उपचारमा आर्थिक सहायता, पोषण तथा खाद्य सुरक्षा कार्यक्रम संचालन गर्ने र स्वास्थ्य संस्थालाई न्युनतम मापदण्ड मूल्यांकन गरी दक्ष बनाउने नीति लिइएको हो ।
नगरपालिकाले टेउवास्थित मुर्तिकला कार्यशाला, ऐतिहासिक कोतघर र घुम्टेलाई पर्यटकीय गन्तव्य बनाउने, कृषि उत्पादनमा आधारित अनुदान दिने, किसानको उत्पादनको बजारीकरणमा नगरले अपनत्व लिने व्यवस्था गरिएको छ ।
नगरपालिकाले दरमखोलाको माछा संरक्षणमा नगरपालिकाले नीतिगत व्यवस्था गरेको छ । नगरपालिकले फोहोरको दिगो व्यवस्थापन, बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन युवालाई तालिम दिने, पशु वधशाला व्यवस्थित बनाउने र खोलानदी सफाइमा ध्यान दिने नीति लिएको छ ।





