बागलुङ/अर्गानिक गाउँपालिकाको पहिचान बनाएको ताराखोला गाउँपालिकाले आर्थिक विकासका लागि एकीकृत उत्पादन र बजारीकरणमा जोड दिएको छ ।
शुक्रबार पालिकाको प्रशासनिक केन्द्र अर्गलको भाँतखाने डाँडामा आयोजित १६ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले गाउँपालिकाको आन्तरिक उत्पादन बढाई निर्यात वृद्वि, पर्याप्त रोजगारी सिर्जना गर्न कृषक, कृषि समूह, निजी क्षेत्र, सहकारी र समुदायको साझेदारीमा ‘उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम’ संचालन गर्ने बताए ।
आन्तरिक उत्पादन र रोजगारी अभिवृद्विको लागि स्थानीय उत्पादन (आलु, भाँगो, किवि, अलैची, स्लेट ढुंगा, गाँजा खेती, लोक्ता र पर्यटन क्षेत्रको विकासमा जोड दिँदै औषधिजन्य प्रयोजनका लागि गाँजा उत्पादनको साथै गाउँपालिकाको विकासका संभाववित क्षेत्रमा अध्ययन अनुसन्धान तथा नवप्रवर्तनको परिक्षण गर्ने गाउँपालिकाले नीति लिएको छ ।
व्यवसायिक कृषि तथा पशुपालन क्षेत्रमा सामूहिक तथा साझेदारी उत्पादन प्रणालीको विकासमा जोड दिएको गाउँपालिकाकाले बहुउदेश्यीय सहकारीहरुलाई एकीकृत उत्पादनको क्षेत्रमा समावेश गरी उत्पादन र बजारीकरण गर्ने कृषकलाई अनुदान उपलब्ध गराउने, स्थानीय उत्पादनलाई आधार बनाई तुलनात्मक लागत लाभ र प्रतिष्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व वृद्वि गर्ने लक्ष्य लिएको छ ।
पूर्वाधारतर्फ शहीद मार्गको स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिँदै औद्योगिक ग्रामको निर्माणलाई निरन्तरता र दलामचौर मोटरेबल पुल, दुई वडा कार्यालय, सामुदायिक र नमुना विद्यालयका भवन निर्माण गर्ने गाउँपालिकाले योजना बनाएको छ ।
आधारभूत स्वास्थ्य सेवामा गुणस्तर वृद्वि गर्न दक्ष जनशक्ति, पूर्वाधार र उपकरणको व्यवस्था गर्ने लक्ष्य लिएको गाउँपालिकाले जेष्ठ नागरिक, असक्त अपाङ्गता भएकाहरुलाई घरदैलोमा नियमित स्वास्थ्य परीक्षण र औषधिको व्यवस्था गर्ने नीति लिएको छ । पालिकाले पाँच शैयाको आधारभूत अस्पताल निर्माण कार्यलाई परिष्कृत रुपमा अघि बढाउने भएको छ ।
पर्यटकीय गन्तव्य स्थलको सुधार गर्दै गाउँपालिकाको भ्रमण गर्न आउने पर्यटकहरुलाई घरबासमा आवास र स्थानीय खानाका परिकारहरु ब्राण्डको रुपमा उपलब्ध गराउने नीति अबलम्बन गरेको छ । प्राविधिक धारमा अध्ययन गर्ने जेहेन्दार, शहिद परिवार, द्वन्द्व पीडित, न्युन आय भएका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने, युवालाई सरकारी क्षेत्रमा पहुँच अभिवृद्वि गर्न लोकसेवा तथा शिक्षक सेवाका तयारी कक्षा निशुल्क संचालन गर्ने ताराखोलाले नीति लिएको छ ।
बहुउदेश्यीय कबर्डहल÷रंगशाला लगायत खेलकुद पूर्वाधार निर्माण तथा मर्मतमा जोड दिदै बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता संचालन गर्ने, युवा श्रम शक्तिलाई विकासका कार्यक्रममार्फत स्वरोजगार उन्मुख कार्यलाई पालिकाले निरन्तरता दिएको छ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा, सुरक्षित खानेपानी कार्यक्रम र शहिद तथा बेपत्ता परिवार, घाइते अपाङ्गता र असहायहरुका लागि मासिक रुपमा उपलब्ध गराउँदै आएको जीवन निर्वाह भत्तालाई गाउँपालिकाले निरन्तरता दिएको छ ।





