बागलुङ/पछिल्लो समय नेपाली लोक गीत संगीतमा विकृति फैलिन थालेको भन्दै स्रस्टा, सामाजिक अगुवा, राजनीतिक दल लागयतले चिन्ता व्यक्त गरेका छन् । विश्व संगीत दिवशको अबसरमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान बागलुङले आयोजना गरेको समाज रुपान्तरणमा संगीतको भूमिका तथा नेपाली लोक संगीतमा देखिएको किकृति न्युनिकरणकालािग हाम्रो दायित्व बिषयक सरोकारवालाको अन्तरक्रियामा उनीहरुले लोगगीत संगीतलाई अतिक्रमण गर्न नहुने समेत बताएका हुन् ।
कार्यक्रममा प्रतिष्ठानको केन्द्रीय सचिव तारानाथ आचार्यले लोकगीतले नेपाली जनजीवन बोल्नुपर्ने बताए । उनले गीत संगीतमा आएको छाडापनले नेपालको संस्कृतिलाई असर परेको बताए । उनले घर परिवार सँगै बसेर हेर्न, गाउन र नाच्न मिल्ने गीत मात्रै लोकगीत हुने बताए ।
कार्यक्रममा लोक भजन तथा चुड्का समाजका अध्यक्ष टेकबहादुर केसी संगमले समाजलाई सही दिशा दिने खालका गीतसंगीत बनाउनुपर्नेमा सुझाव दिए । उक्त अबसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य बिजय अधिकारी, एमाले अध्यक्ष हिराबहादुर केसी, राजमोका सचिवालय सदस्य थानेश्वर सुवेदी, नेकपा एसका अध्यक्ष लालबहादुर थापा लगायतले गीत संगीतलाई समाजको ऐनाको रुपमा हेरिने भएपनि पछिल्लो समय आएको विकृति रोक्न सबैको साझा दायित्व भएको बताएका थिए ।
कार्यक्रममा प्रतिष्ठानको गण्डकी प्रदेश उपाध्यक्ष पूर्ण परियारले कार्यपत्र प्रस्तुतीकरण गर्दे गीत संगीत नेपालीको जीवन पद्दती बनेकोले नेपाली समाज अनुसारकै गीत लेखिनुपर्ने बताए । उनले विकृतिहरु निरुत्साहित गर्ने र विकृतिलाई न्युनिकरण गर्न संगीत बोर्ड स्थापना गर्नुपर्नेमा जोड समेत दिएका थिए ।
प्रतिष्ठानको बागलुङ जिल्ला अध्यक्ष सरस्वती खड्का परियारको अध्यक्षता, प्रथम उपाध्यक्ष शिव शर्माको संचालन र उपाध्यक्ष जमुना श्रीषको स्वागतमा सम्पन्न कार्यक्रममा लोकगीतका सर्जक प्रल्हाद सुवेदीलाई सम्मान गरिएको थियो ।





