
बागलुङ/‘श्रम, सहकारी,कृषि, पशु पर्यटन उद्योग र पूर्वाधार– गुणस्तरीय स्वास्थ्य र शिक्षा एक घर एक रोजगार’ लक्ष्यलाई पुष्ट्याई गर्नेगरी ताराखोला गाउँपालिकाले ४० करोड ७५ लाख ५४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकामा आगामी आर्थिक वर्षमा नेपाल सरकारबाट सशर्त अनुदानतर्फ १६ करोड ३८ लाख ५४ हजार, वित्तिय समानिकरण अनुदानतर्फ ७ करोड २३ लाख, समपुरक अनुदानतर्फ १ करोड ५० लाख, राजश्व बाँडफाँडबाट ७ करोड प्राप्त हुने अनुमान गरेको छ ।
त्यस्तै गण्डकी प्रदेश सरकारबाट समानिकरण अनुदानतर्फ ७९ लाख ४५ हजार, राजश्व बाँडफाँडबाट ४५ लाख ३७ हजार, समपुरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख हुने अनुमान गरिएको छ । यस आर्थिक वर्षमा २ करोड ५० लाख मौज्दात रहने अनुमान गरिएको गाउँसभामा जानकारी गराईएको थियो ।
सामाजिक विकास,मानवीय पूँजी परिचालनमार्फत स्थानीय श्रमशक्तिको उपयोग,पालिका स्तरका गौरवका आयोजनाको रुपमा सडक, खानेपानी, भवन तथा अन्य पूर्वाधार निर्माण,कृषि, पशुपालन, सहकारी, उद्योग र पर्यटनमार्फत आर्थिक विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन,सुशासन तथा संस्थागत क्षमता विकास जस्ता कुराहरुलाई प्राथमिकतामा राखेर बजेट आएको छ ।
उपाध्यक्ष भिम बहादुर रोकाद्धारा प्रस्तुत बजेटमा आर्थिक विकासतर्फ कृषि विकास कार्यक्रमका लागि सशर्त अनुदानसहित कुल बजेट ४ करोड १५ लाख ४७ हजार बजेट बिनियोजन भएकोमा आन्तरिक उत्पादन र रोजगारी अभिबृद्धिका लागि २० लाख, उत्पादन प्रबर्धनका लागि कृषक र कृषि समुहमार्फत बिभिन्न बिउ रैथाने बाली र यान्त्रिकरणमा लागी ३० लाख, सबै वडामा पशुसेवा प्राबिधिकको ब्यबस्था गरी पशु–पंक्षि तथा मत्स्य औषधी निशुल्क वितरणको लागि १० लाख, पशु विकासतर्फ कुल बजेट ५४ लाख, लघु उद्यम विकासको लागि २९ लाख बजेट बिनियोजन भएको छ ।
सामाजिक विकासतर्फ सशर्त अनुदानसहित कुल बजेट १५ करोड ८७ लाख ५४ हजार र बजेटको व्यवस्था गरिएको छ । शिक्षातर्फ शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अतिरिक्त र प्रयोगात्मक सिकाइका लागि १५ लाख विद्यालय क्षेत्र सुधार योजनाअन्तर्गत २ करोड १७ लाख, कार्यालय सहयोगी, बाल बिकास केन्द्रका सहजकर्ता र बिद्यालय कर्मचारीको थप पारिश्रमिकका लागि ३९ लाख ५० हजार बजेट बिनियोजन गरेको छ ।
स्वास्थ्यतर्फ गाउँपालिकामा निशुल्क स्वास्थ्य सेवा, नेपाल सरकारले तोके अनुसारका औषधी वितरण र एम्बुलेन्स सेवालाइ प्रभावकारी र पारदर्शी बनाउन आवश्यक रकम विनियोजन भएको छ । स्वास्थ्य सुधारको लागि ४ लाख ४० हजार, स्थानीय श्रमशक्तिलाई विकासको लागि ५० लाख बजेट बिनियोजन भएको छ ।
अध्यक्ष स्वरोजगार कार्यक्रमका लागि २० लाख, ताराखोला बहुउदेश्यिय कबर्ड हलका लागि १ करोड, उत्पादन र व्यवसायका नयाँ क्षेत्र विकासमा लागि अध्यक्ष नबप्रवर्तन साझेदारी कार्यक्रमका लागी ४० लाख बजेट बिनियोजन भएको छ ।





