बागलुङ/बागलुङ नगरपालिकाले श्रम बैंक स्थापना गर्ने भएको छ । विकास निर्माण, सरसफाइ, बिपत व्यवस्थापन, पूर्वाधार लगायत क्षेत्रमा विज्ञ श्रमिकको पहिचान गरी उनीहरुलाई श्रम बैंकमार्फत रोजगारी दिने व्यवस्था गरिने छ ।
पन्ध्रौ नगरसभामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आन्तरिक रोजगारी वृद्दिका लािग संघसंस्था, प्रदेश सरकार लगायतसँग समन्वय गर्ने उल्लेख गरेका छन् । बैदेशिक रोजगारीमा समस्यामा परेकाहरु बढ्न थालेपछि स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न यो व्यवस्था गरिएको हो ।
बैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र प्रविधिलाई नगरपालिकाले उपयोग गर्ने नीति लिएको छ । काम गर्दा स्थानीय तहको श्रम स्विकृतिको प्रक्रियालाई प्रभावकारी बनाइने नीतिमा उल्लेख छ । नगरपालिकाले पर्यटन प्रवद्र्धनलाई आर्थिक विकासको सूचकको रुपमा राखेर नगरस्तरीय पर्यटन गुरुयोजना बनाउने भएको छ ।
पर्यटन, कृषि उद्योग र ठूला पूर्वाधार विकास गरेर समृद्धि ल्याउन लगानी सम्मेलन समेत गरिने श्रेष्ठले बताए । बागलुङ कालीका मन्दिरमा हरेक बर्ष १० लाखबढी भक्तजन आउने गरेका छन् । ती भक्तजनलाई बागलुङ घुम्ने बनाउने गरी नीति तथा कार्यक्रम ल्याइएको हो । त्यसका लागि दर्जनबढी स्थानको प्रवद्र्धन, ती क्षेत्र हेर्न ‘बागलुङ घुम्न जाऔं’ कार्यक्रम समावेश गरिएको छ । पर्यटन विद्यार्थी क्लब गठन गर्ने, पर्यटन पुस्तिका प्रकाशन, डकुमेन्ट्री निर्माण गर्ने नगरको योजना छ ।
स्थानीय मदिरालाई स्वास्थ्य मापदण्ड पुरा गरी गुणस्तरीय बनाउने र ब्राण्डिङ तथा बजारीकरणमा नगरपालिकाले सहयोगी नीति लिने छ । बलेवा बिमानस्थललाई संचालनको पहल गर्ने, ऐतिहासिक कोट, मठमन्दिरलाई संरक्षण गरी पर्यटक जाने पदमार्ग निर्माण गर्ने नीतिमा उल्लेख छ । नगरपालिकाले परम्परागत गोलघर र शताब्दी पुरा गरेका घरको संरक्षण गर्ने योजना पनि अगाडि सारेको छ ।
ठूला विद्यालय, आवासीय विद्यालय र लिड विद्यालय संचालन गर्ने नगरपालिकाले नीति लिएको छ । सबै बिद्यालय बालमैत्री बनाइ आगामी पुस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्य पनि छ । स्वास्थ्यतर्फ शुन्य होम डेलीभरीको नगर बनाउने, नगरप्रमुख स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने नगरको योजना छ । श्रमिक पहिचान पत्र बनाउने, नमूना दलीत बस्ती विकास गर्ने, जियोलोजिकल पार्क बनाउने योजना समेत राखेको छ । नीतिमा बाँझो जमिनको उपयोग, गरौं सबै मिली सदुपयोग, एक बस्तु सामुहिक उत्पादन, कौशीखेतीको शान, छतमा नै उत्पादन, नगर उपप्रमुख घरबास कार्यक्रम, अभिभावकसँग नगरप्रमुख, पढ्दै कमाउँदै, शुन्य होम डेलीभरी, नगरप्रमुख स्वास्थ्य बीमा कार्यक्रम, आमाबाबुसँग नगरप्रमुख, जेष्ठ नागरिक हाम्रा गौरव जस्ता योजना छन् ।
बाङेचौर खेलमैदानमा सुविधा सम्पन्न रंगशाला निर्माणको लागि साझेदार खोजीरहेको नगरपालिकाले मेयर कप फुटबल प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिने भएको छ । दिगो सडकका लागि ‘सडक मर्मत बल’ र ‘पूर्वाधार एम्बुलेन्स’को व्यवस्था गर्ने नीति लिएको नगरपालिकाले नगरबस संचालनमा ल्याउने भएको छ । बागलुङको पुरानो बजार क्षेत्र कम्पुटोल, किराना टोल, देउराली चोकको क्षेत्रलाई ऐतिहासिक सम्पदा बस्तीको रुपमा विकास गर्दै नगरका सडक आसपास रुख रोप्ने कार्यलाई प्रोत्साहन गरी ग्रिन रोडको अवधारणा कार्यान्वयनमा लैजाने नगरपालिकाले योजना बनाएको छ ।





