बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बाँझो जग्गा उपयोग, प्राबिधिक शिक्षामा जोड

बाँझो जग्गा उपयोग, प्राबिधिक शिक्षामा जोड

कुश्मीशेरामा केराको पकेट क्षेत्र बिस्तार गर्ने भन्दै ‘सेरा जाउँ, केरा खाउँ’ अभियान सञ्चालन गर्ने घोषणा ।


  • ढोरपाटन संवाददाता
  • असार १० २०८१, आइतबार

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकाले कृषिमा बाँझो जग्गाको उपयोग र शिक्षामा प्राबिधिक बिषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बाँझो जग्गाको उपयोगका लागि कृषि मजदुरको परिचालन र भुमी बैंक स्थापनाको अबधारण नगरले सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्ष २०८१/८२ मा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने नीति लिएको जैमिनीले पकेट क्षेत्रको बिस्तारमा जोड दिएको छ ।
आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरामा केराको पकेट क्षेत्र बिस्तार गर्ने भन्दै ‘सेरा जाउँ केरा खाउँ’ अभियान सञ्चालन गर्ने घोषणा गरे । वडा नं. २ र ३ दमेकलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गरेर तरकारीमा आत्मनिर्भर बन्दै निर्यातको नीति लिएको उनले बताए ।
‘गुणस्तरीय शिक्षाको आधारशिला, सुधारिएको पाठशाला’ नारासहित शिक्षण सिकाईलाई गुणस्तरीय बनाउन विद्यालयदेखि अभिभावक सम्मको मुल्यांकन गरेर न्युनतम सेवा मापदण्ड लागु गर्ने नीति नगरले बनाएको छ । एक वडा एक आवासीय विद्यालय, एक विद्यालय एक करेसाबारी कार्यक्रम सञ्चालन गरेर हरित विद्यालय अभियान सञ्चालन गरिने नगरप्रमुख पुनले घोषणा गरे । विदेशमा सीप सिकेकाहरुको सीप परीक्षण गरेर प्रमाणपत्र बितरण गर्न प्रदेश सरकारसँग समन्वय गर्ने नीति समेत जैमिनीले सार्वजनिक गरेको छ ।
‘अवसर र सम्भावनाको खानी, गरौं जैमिनीमा लगानी’ भन्ने नाराका साथ लगानी सम्मेलन गर्ने, बाँदर बगैंचाका काम अघि बढाउने र जैमिनी धाम विकास समितिको गठन गर्ने जस्ता महत्वकांक्षी योजनाहरु नीति तथा कार्यक्रममा समाबेश गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->