बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

न उचित मुल्य पाउँछन्, न समयमै भुक्तानी

न उचित मुल्य पाउँछन्, न समयमै भुक्तानी


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८१, सोमबार
बागलुङको कुश्मीसेराका किसानले उत्पादन गरेको दूध बजार लगिंदै । बागलुङका किसानले दूध उत्पादन बढाउँदै लगेपछि आत्मनिर्भर नजिक पुगेको छ । तस्बिरः ढोरपाटन फाइल तस्बिर

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ का किसान कृष्ण प्रसाद लामिछानेले दैनिक ४० लीटर दूध उत्पादन गर्छन् । उनको दूध आफ्नै गाउँमा खुलेको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थामा जम्मा गर्छन् । त्यो दूध उनीहरुले पोखरास्थित सुजल डेरीलाई बेच्छन् ।
बेच्दा किसानलाई ६५ रुपैयाँ मात्रै पर्छ । जबकी बजारमा प्रतिलीटर १ सय २० रुपैयाँ मूल्य तोकिएको छ । किसानले आफ्नो उत्पादनको बजारीकरणका लागि डेरीले चाहेको मूल्यमा बेच्न बाध्य छन् । त्यो पनि तीन महिना बाँकी राखेर मात्र डेरीले दूधको मूल्य भुक्तानी दिने गरेको छ । ‘हामीले फागुन पछिको भुक्तानी पनि पाएका छैनौ’ उनले भने, ‘हामीले उचित मूल्य पनि पाएनौं, समयमा भुक्तानी पनि पाएनौं ।’ उत्पादन बजार पठाउन घटेर दूध बेच्न बाध्य भएको उनले बताए ।
यहाँका किसानले दैनिक ८ सय लीटरसम्म दूध उत्पादन गर्छन् । तर सहजै बजार पठाउन सकेका छैनन् । जसको कारण मूल्य नपाएको उनीहरुको गुनासो छ । बिशेषगरी अमलाचौरको टाकुरी मात्र नभई जैमिनी १ टुनीबोटका किसानको समस्या उहीं हो । १ सय २५ जना शेयर सदस्य रहेको सहकारीमा ३४ जना किसान टुनीबोटका छन् । उनीहरुले बजार सहज पठाउन सकेमा दूधको मूल्य पाउने आसा राखेका छन् । उनीहरुले यो गुनासो जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, सहायक प्रजिअ चित्राङगत बराल र भेटेनरी अस्पतालका प्रमुखसँग राखेका हुन् ।
समस्यामा परेका किसानलाई स्थानीय सरकारले नहेरेको उनीहरुको गुनासो छ । उत्पादनमा आधारित अनुदान भनेर विज्ञ केन्द्रले प्रतिलिटर २ रुपैयाँ ५० पैसाको दरले दिने गरेको छ । तर सिधै भ्याट बिलमा कारोवार गरेको दुधको मात्रै मूल्य पाएको अगुवा किसान मुक्तिराम आचार्यले बताए । उनीहरुले गाउँघरमा पनि ठूलो मात्रामा दूध बेच्छन् । तर कारोवारको आधारमा अनुदान पाउन नसकेको गुनासो छ ।
केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले भने अनुदानको भन्दापनि कार्यविधिले जे जस्तो व्यवस्था गरेको छ, त्यसैमा मात्र हिंड्न सकेको बताए । कार्यविधिले भ्याट बील बिनाको कारोवारलाई मानेको छैन । त्यसको व्यवस्थापनका लागि किसानलाई कारोवार आधिकारिक संस्थामै गर्न उनले आग्रह गरे ।
किसानले हरेक दुई दिनमा पोखरा १ हजार लीटर दूध पठाउँछन् । बाँकी झण्डै ६ सय लीटर गाउँमै बेच्ने गरेका हुन् । जैमिनी नगरपालिकाले आफ्नो वडाका किसानलाई प्रतिलीटर एक रुपैयाँ अनुदान दिएको छ । तर बागलुङ नगरपालिकाले केही नदिएको उनीहरुको गुनासो छ । नगरका एक जनप्रतिनिधिका अनुसार उनीहरु बागलुङमा कारोवार गर्नेभन्दा पोखरा र कुश्मामा गर्दा सदरमुकामतर्फ नजोडिएको बताए । तरपनि समस्या समाधानमा पहल गर्न सकिने उनले आश्वासन दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->