बागलुङ/बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि १ अर्ब ६१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख राजु खड्काले सोमबार बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि तालिम, भ्रमण तथा बैठक भत्ता कटौती गरेको जानकारी दिए । खड्काका अनुसार ती शिर्षकमा शुन्य बजेट बनाइएको छ । त्यस्तै सत्तपत्ति कर तथा भूमीकर प्रयोजनको लागि कायम भएको जग्गाको न्युनतम मूल्यांकनका सम्बन्धमा वडा नं. १४ पनि बजार बिस्तारको क्षेत्र बनाई कर संकलन बढाउने लक्ष राखिएको छ ।
नगरका पार्क निजीक्षेत्रलाई दिएर कर लिने नीति बनाइएको हो । पुस मसान्तभित्र बुझाउने कर समयमा तिरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । यो नीतिले करदातालाई प्रोत्साहन मिल्ने आशा लिइएको छ ।
बजेटमा आर्थिक विकासतर्फ कृषि, पशुपंक्षी, सहकारी, जलश्रोत र सिंचाइका कार्यक्रममा एकमुष्ठ ५ करोड ५१ लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त रकम कुल बजेटको ३ दशमबल ४१ प्रतिशत हो । त्यस्तै पूर्वाधार विकासतर्फ ६२ करोड २ लाख बजेट विनियोजन गरिएको छ । क्रमागत योजना पुरा गर्ने, समपुरक कोषसहित नगर गौरवका आयोजना पुरा गर्न उक्त बजेट खर्च गरिनेछ । उक्त रकम कुल बजेटको ३८ प्रतिशत हो ।

बजेट प्रस्तुत गर्दै नगर उप–प्रमुख राजु खड्का । तस्बिर : ढोरपाटन
सामाजिक विकासतर्फ ६१ करोड २४ लाख बजेट विनियोजन भएको छ । नगर अस्पताल संचालन, बालबालिकाको दिवा खाजा, आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा अनुदान कार्यक्रम समेत यो शिर्षकमा समावेश छ । कार्यालय संचालनतर्फ २० करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त रकम कुल बजेटको १२ दशमलब ९३ प्रतिशत हो । सुशासन तथा अन्तरसम्बन्धका लागि नगरपालिकाले ११ करोड ९१ लाख अर्थात् ७ दशमलब ३७ प्रतिशत बजेट विनियोजन गरेको छ ।
चालुवर्षको तुलनामा बजेटले विभिन्न शिर्षकमा खर्च कटौती गरेको छ भने भत्ता शिर्षकमा शुन्य बनाएको छ । व्ययतर्फ गत वर्ष १६ लाख ३४ हजार बजेट रहेको औषधि उपचार खर्च शुन्य बनाइएको छ ।





