बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा

जमिन बगर बनेपछि नगरपालिकाको औद्योगिक ग्राम सपना तुहिन लागेको हो ?


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८१, बिहिबार

बागलुङ÷औद्योगिक ग्राम बनाउने भन्दै चार वर्षअघि काम थालेको बागलुङ नगरपालिकाले संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ ।
नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको छ । कालीगण्डकी नदी र करिडोरको छेवैमा रहेको १ सय रोपनीभन्दा बढी जमिन लिएर औद्योगिक ग्राम बनाउने प्रयास भएपनि कटान रोक्न नसक्दा नगरपालिकाले काम अगाडि बढाउन नसकेको हो ।
शुरुवाती समयमा जमिन सम्याउने, घेराबार लगाउने र केही उद्योगहरु स्थापित गरिहाल्ने गरी संरचना निर्माणको ठेक्का लगाएपनि अहिले भने अलपत्र परेको हो । नदीले गाडी चल्ने ट्रयाक बनाएको जमिन बगाएको छ । अहिले यो स्थानको झण्डै ३० रोपनी जमिन कालीगण्डकीमा मिसिईसकेको छ ।
वडा नं. १३ को ‘कालाखोला औद्योगिक ग्राम’ धरापमा परेको हो । औद्योगिक ग्राम बगर बन्ने खतरा भएपछि नगरपालिकाले उद्योग खोल्ने तयारी स्थगित गर्नुपरेको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । चार वर्षअघि गण्डकी प्रदेश सरकारले एक स्थानीय तह, एक औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो । उक्त घोषणा अनुसार कालाखोलाको झण्डै १ सय रोपनी जमिनलाई बागलुङ नगरपालिकाले औद्योििगक ग्राम बनाउने निर्णय गरेको थियो ।
झण्डै २० लाखबढी रकम लगानी भैसकेपछि काम अलपत्र परेको हो । पूर्वतर्फ पर्वतको सहश्रधारामा नदी दोहन बढेपछि नदीको धार परिवर्तन भएको थियो । उक्त धारले औद्योगिक ग्राम कटानमा परेको हो । ‘सर्वोच्च अदालतको आदेशपछि हामीले चारवर्षदेखि नदीजन्य वस्तु उत्खनन् गरेका छैनौं, तर अबैध दोहन गर्नेले जथाभावी गर्दा नदीले धार परिवर्तन भयो’ श्रेष्ठले भने, ‘त्यसको मार हामीले खेपेका छौं ।’ जमिन बगर बनेपछि नगरपालिकाको औद्योगिक ग्राम सपना तुहिन लागेको हो ।
नदी कटानले स्थानीयका दर्जनबढी घर समेत जोखिममा परेका हुन् । उनीहरुले तत्काल नदीको किनारमा तटबन्धन नगरे बस्तीनै बग्ने, सयौं रोपनी खेतीयोग्य जमिन बगर बन्ने अवस्था आएको स्थानीय महेन्द्र रोकाले गुनासो गरेका छन् । एकातर्फ दोहन हुँदा अर्कोतर्फ नदीको धार परिवर्तन हुने गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले नदी किनारका जोखिम स्थानको अबलोकन गरेर नदीको धार परिवर्तन भएकोले रोक्नुपर्ने बताए । उनले दोहन गर्नेलाई कारवाही गर्न पहल गर्ने समेत बताए । ‘नदीलाई सहजै बग्न दिए त केही नहोला, नत्र जोखिम बढेकै देखियो’ सुवेदीले भने, ‘तटबन्धनको काम गरेमात्र जोगाउन सकिन्छ ।’
जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, प्रजिअ सुवेदी, नगरप्रमुख श्रेष्ठ र प्राविधिकको टोलीले अनुगमन गरेर नदी दोहन रोक्ने, तटबन्धन गर्ने र थुप्रिएको सामाग्री ‘घाटगादी’ गरेर तत्कालको समस्या समाधान गर्न सकिने सुझाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->