बागलुङ/जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीस जना गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्यो । प्रतिहलगोरु दश हजार रुपैयाँका दरले दिईएको प्रोत्साहन रकम किसानका लागि राहत बन्यो । राँगा पाल्ने किसानलाई पनि नगरले प्रोत्साहन रकम उपलब्ध गराउने गरेको छ । गोरुका लागि दिईएको अनुदानको निकै चर्चा भयो ।
केही वर्ष अघिसम्म किसानका लागि प्रबिधि हस्तान्तरण भन्दै मिनिटेलर हलोका लागि स्थानीय तहले अनुदान दिँदै आएका थिए । मिनिटेलरका लागि दिईएको अनुदान बास्तविक किसानसम्म नपुगेको चर्चा हुन्थ्यो । ५० प्रतिशत साझेदारी गर्नुपर्ने भएकाले ३५ देखि ५० हजार पर्ने हलो खरिद गर्न किसाले त्यसको आधा रकम जुटाउनु पथ्र्याे । दिनभरी खेतबारीमा काम गरेर बिहान–बेलुका छाक टार्ने किसानका लागि त्यो कठिन थियो । त्यसैले वास्तविक किसानको हातमा प्रबिधि हस्तान्तरणको अनुदान पुग्नै गाह्रो थियो ।
गोरुमा गरिएको लगानी भने गरिखाने वर्गको हातमा परेको चर्चा हुने गरेको छ । धमाधम आयातित मिनिटेलरमा अनुदान बाँडेका स्थानीय तहले पछिल्लो दुई वर्षयता स्थानीय सीप र प्रबिधिको खोजी गर्न थालेका छन् । जैमिनीको सिको गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यहाँका तीन स्थानीय तहले गोरुका लागि बजेट छुट्टाएका छन् ।
बागलुङ, जैमिनी र काठेखोलाले गोरुका लागि बजेट छुट्टाएका हुन् । ती स्थानीय तहले गोरु पाल्ने किसानका लागि प्रोत्साहन उपलब्ध गराउन पाँच/पाँच लाख रुपैयाँ विनियोजन गरेका छन् । ‘गोरु जोत्नका लागि मात्रै होईन किसानले उत्पादन बढाउन पनि पाल्नुपर्छ’ जैमिनीका उपप्रमुख हरिहर शर्माले भने ‘गोरु पाल्न छोडेपछि घाँसको खपत घटेको छ, गोबर मलको अभाव हुन थालेको छ, त्यसैले हामीले गोरु पाल्नका लागि प्रोत्साहन गर्न थालेका हौं ।’
मिनिटेलर हलोसंगै गोरु लोप हुदै गईरहेकोले संरक्षणका लागि कृषकलाई प्रोत्साहन स्वरुप ‘गोरुलाई पोषण, कृषकलाई प्रोहत्साहन’ कार्यक्रम ल्याईएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए । गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा रैथाने बालीको संरक्षणमा समेत टेवा पुग्ने उनको विश्वास छ ।
‘प्रबिधिको प्रयोग नै नगर्ने भन्ने होईन, आयातित प्रबिधिले हाम्रो उत्पादनमा घाटा–नाफाको हिसाब पनि गर्नुपर्ने बेला भएको छ’ थापा भन्छन्, ‘हाम्रा परम्परागत स्रोत, सीप र प्रबिधिको संरक्षण र उचित प्रयोग गर्नुपर्छ ।’ प्रबिधिले मात्रै आयातित बस्तु तथा सेवामा खर्च बढाउने उनको धारणा छ । स्थानीय तहले हलगोरु पाल्ने किसानलाई पहिलो चरणमा प्रोत्साहनको योजना बनाएका छन् ।





