बागलुङ/महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बेरुजु अंक छिट्टै रुजु गर्ने गलकोट नगरपालिकाले प्रष्ट्याएको छ । साथै, एउटै शिर्षकमा ठूलो रकम देखिएकोलाई उपशिर्षक बनाएर सार्वजनिक समेत गरेको छ ।
विशेषगरी राष्ट्रिय परिचयपत्र बनाउने शिविर, घर घरमा स्वास्थ्य सेवा, सामाजिक सुरक्षा लगायतका अन्य सेवा प्रवाह र प्राविधिकले नियमित योजनामा जाने–आउने लगायत सबै वडा कार्यालयमा खाएको खाना खाजा समेतलाई जनप्रतिनिधिले खाएको झै प्रचार भएको भन्दै त्यसो नभएको पनि नगरपालिकाले प्रष्ट्याएको हो ।
नगरप्रमुख भरत शर्मा गैरेले कानून बमोजिम पाउने बाहेक अन्य खर्च नगरेको बताए । ‘कार्यालय प्रयोजनका लागि प्राविधिक, कर्मचारी र अन्य कार्यक्रमको खर्च बाहेक हामीले फजुल खर्च गरेका छैनौं’ गैरेले भने, ‘आम नागरिकले सूचनाको हक प्रयोग गर्न पाउने छन् ।’ आवस्यक सबै सूचना दिन पनि नगरपालिका तयार रहेको उनले बताए ।
नगरपालिकाले इन्धन र खाजा खानामा धेरै खर्च गरेको भन्दै स्थानीय युवाले हिसाब माग समेत गरेका थिए । उक्त हिसाबको विषयगत जानकारी समेत दिन तयार भएको भन्दै गैरेले भ्रष्टाचारजन्य कसुर हुने काम नगरेको दाबी गरे । ‘हरेक नागरिकले खोजेर हामीबिरुद्ध उजुरी गर्नुहोस्, जसले गर्दा अख्तियार आएर छानविन गर्न सकोस्’ गैरेले भने, ‘हामीले गरेका कमीकमजोरी भएपनि सच्चिने मौका हुनेछ ।’ तर सामाजिक संजालमार्फत गरिने टिकाटिप्पणी र चरित्रहत्याका प्रयास भने राम्रो नभएको गैरेले बताए ।
केही समयदेखि नगरपालिकाको खर्चप्रति सामाजिक संजालमा टिकाटिप्पणी बढीरहेको छ । बेरुजु आएको रकम सबै भ्रष्टाचार भएको जसरी प्रचार भएकोले पत्रकार सम्मेलनमार्फत जानकारी गराउन बाध्य भएको पनि उनले बताए ।
नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले नगरको काम र खर्चबारे प्रेस नोट नै जारी गरेका छन् भने प्रमुख प्रशासकीय अधिकृत थम्मनसिंह गौतमले सैद्दान्तिक बेरुजुलाई घटाएर शुन्यतर्फ लैजाने प्रतिवद्दता जनाए । ‘हामीले सकेसम्म न्युन बेरुजु बनाउने प्रयासमै छौं’ उनले भने, ‘कागजात नपुगेका र केही प्रक्रियागत त्रुटी भएका बेरुजु छिटै अन्त्य हुनेछन् ।’
त्यस बाहेक थालेपोखरामा लालीगुराँस क्रिकेट स्टेडियम संभाव्यता अध्ययन र कोरोना संक्रमणबाट पीडितलाई दिएको राहतबारे पनि प्रष्टाएका थिए । गलकोट नगरपालिकाले झण्डै ५ सय जना कोरोना संक्रमण पीडितलाई १० हजारको दरले राहत रकम उपलब्ध गराएको थियो । उक्त रकम समेत प्रक्रियागत त्रुटीले बेरुजुमा परेको थियो ।
मामा किचन एण्ड काठमाण्डौं झोल मःमको रुपमा १ लाख बेरुजु देखिएकोमा नगरपालिकाले कतैपनि यस्तो मःम खरिद नगरेको प्रष्ट पारेको छ । प्रमुख प्रशासकीय अधिकृत थम्मनसिंह गौतमले नगरपालिकाभित्र त्यस्तो संस्थालाई रकम दिएको बीलभरपाइ नभएको बताए ।
आगामी दिनमा नगरपालिकाले बेरुजु र भ्रष्टाचारबारे उपभोक्ता समितिमा अनुशिक्षणको रुपमा सिकाउने पनि तयारी गरेको गौतमले जानकारी दिए । जेठ अन्तिम साता महालेखाले सार्वजनिक गरेको बेरुजुको लिस्टमा जिल्लाका १० वटै पालिकाको खर्चमा भएको अनियमितताबारे उल्लेख थियो । ती बेरुजुमध्ये अधिकांस सैद्दान्तिक मात्रै थिए । व्यक्तिगत रुपमा असुल उपर गर्नुपर्ने बेरुजु भने तीनपुस्ता पछि समेत तिर्नुपर्ने कानूनी प्रावधान छ ।





