बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्युनतम महशुल वृद्धि गरेको छ । बिहिबार संस्थाका उपाध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले खानेपानीको न्यूनतम महशुल दुई सय प्रतिशतले वृद्धि गरेको हो ।
यसअघि न्युनतम प्रतिआठ युनिट एक सय रुपैयाँ महशुल लिँदै आएको संस्थाले आगामी भदौ १ गतेदेखि लागु हुनेगरी प्रतिदश युनिट पानीको महशुल ३ सय रुपैयाँ पुर्याएको छ । नगर विकास कोषसँग लिएको ऋणलाई पुनरतालिका गरेर मर्मत संहारका लागि ऋण लिनुपर्ने भएकाले स्रोत सुनिश्चित गर्न महशुल बढाउनुपरेको उपाध्यक्ष जिसीले बताए ।
नगर विकास कोषसँग ऋण लिने बेला नै महशुल वृद्धि गर्ने सहमति भए अनुसार ऋण तिर्ने स्रोत जुटाउन महशुल वृद्धिको निर्णय गरिएको जिसीले दाबी गरे । उनले असजिलो परिस्थिती आएकाले महशुल वृद्धि गर्नुपरेको बताए ।
महशुल वृद्धिको निर्णयमा संस्थाका केही सदस्यहरुले भने असहमती व्यक्त गरेका छन् । सदस्य कुलराज शर्मा ‘हिमाल’ र हुमा खड्काले महशुल वृद्धिको निर्णयमा असहमति जनाएका हुन् । एकै पटक महशुल बढाउने निर्णयले उपभोक्ता मारमा पर्ने भएकाले आँफुहरुले असहमति जनाएको शर्माले बताए । बैठकले नगर विकास कोषको तिर्न बाँकी रहेको २ करोड ८१ लाख किस्ता तथा व्याज भुक्तानी गर्ने र खानेपानी आयोजना मर्मतका लागि थप ऋण लिने प्रक्रियामा सहभागि हुने निर्णय समेत गरेको छ ।
खानेपानीको न्युतम महशुल बढाएको समितिले सुविधा भने अघिल्लो समितिले भन्दा बढी लिने गरेको छ । वर्तमान समिति निर्वाचित भएपछिको बैठकबाट निर्णय गरेर समितिले बैठक भत्ता बढाएको हो । यसअघि १ हजार बैठक भक्ता रहेकोमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यले १ हजार ५ सय रुपैयाँ बैठक भत्ता लिने गरेका छन् ।
संस्थामा पदाधिकारी तथा सदस्यहरुका कारण काम गर्ने वातावरण नरहेको भन्दै अध्यक्ष केवी राना मगरले राजीनामा दिएपछि बसेको पहिलो बैठकले महशुल बढाउने निर्णय गरेको हो । मगरको राजीनामा स्वीकृत भएको छैन् भने अब के गर्ने भन्ने विषयमा समिति अन्यौलमा छ ।





