बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रैथाने बीउले धान उत्पादन बढेन

रैथाने बीउले धान उत्पादन बढेन


  • ढोरपाटन संवाददाता
  • असार १७ २०८१, आइतबार

बागलुङ/असारको १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाई भएको छ । बर्षात ढीला हुँदा रोपाइ हुन नसकेको हो । अझैपनि अधिकांस स्थानमा मुल नै नफुटेको, सिंचाइका कुलो नहर संचालनमा आउनै नसकेको कारण यो अबस्था भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुनले बताए ।
लामो समयको खडेरीका कारण मकै लगाउन पनि ढीलाइ भएको, बर्षात नहुँदा मकै भित्राउने बेला समेत नहुँदा धान लगाउन ढीला भएको हो । गलकोट नगरपालिका बाहेक अन्य धेरै पालिकामा धानको रोपाई न्युन भएको पुनले बताए ।
दशकअघि तत्कालिन कृषि कार्यालयले ५ हजार ९ सय हेक्टरमा धान खेती गरिने तथ्यांक दिएकोमा अहिले केन्द्रको तथ्यांक घटेको छ । केन्द्रको तथ्यांमा जिल्लाभर ५ हजार ७ सय ७ हेक्टरमा धान खेती हुने गरेको हो । उक्त जग्गामा बर्षको १९ हजार ७ सय ५० मेट्रिकटन धान उत्पादन हुने गरेको छ । ‘जिल्ला भित्रको कृषि गणना र अद्यावधिक नहुँदा कतिपय तथ्यषंक आनउन नसकेको हो’ पुनले भने, ‘कर्मचारीले आफ्नो फिल्डबाट उतारेको तथ्यांक र प्रदेशस्तरीय कार्यशालाबाट ठम्याएको क्षेत्रफललाई अहिले आधिकारिक मानिएको छ ।’ बागलुङमा अधिकांस जमिनमा परंपरागत र रैथाने धान लगाउने चलन छ । त्यसले उत्पादन बढाउन नसकेको हो ।
बिशेषगरी रैथाने धान तर्फ गौरीया, जेठोबुढो, गुडुरा र एक्ले धान लगाइन्छ । उन्नत जातमा केन्द्रले सिफारिस गरेको खुमल ४ जातको धान लगाइएको छ । त्यस बाहेक किसानले सिफारिस नभएको जात लगाएका छन् । ती जातहरु जेखिममा रहेको पुनले बताए । ‘हामीले स्विकृत नदिएपनि कतिपय किसानले ‘युएस ३्१२’ जातको धान लगाउनुभएको छ’ पुनले भने, ‘यहाँको हावापानीमा उक्त जात सिफारिस छैन ।’ दाना नलाग्ने लगायतको समस्या हुन सक्ने केन्द्रले चेतावनी दिंदापनि किसानले जवरजस्ती खेती गरेको उनले बताए । चैते धानले भने राम्रो उत्पादन दिएको उनले बताए ।
जिल्लाको उत्पादन बढाउने काममा भने कृषि अधिकृतहरुले प्रयास गरेको बताए । ‘गुणस्तरीय बीउ छनौट गर्ने, उन्नत जात लगाउने गर्दा उत्पादन बढाउन सकिन्छ’ केन्द्रका प्रमुख राजेन्द्र सिलवाललेभने, ‘जमिन प्रसस्त छ, तर धान लगाइएको छैन, सिंचाइको व्यवस्थापनगर्न सके धेरै उत्पादन हुनेछ ।’ अझै कतिपय स्थानको तथ्यांकै नआएको उनले बताए । बागलुङको तमानखोला र ताराखोला गाउँपालिकामा थोरै मात्र धान लगाइन्छ । अन्य सबै पालिकामा प्रमुख बाली धान हो ।
धानबालीमा लाग्ने रोगको उपचार नियमित गर्न सके उत्पादन बढ्न सक्ने किसान बताउँछन् । समयमा मल पाउने व्यवस्था र रोग लागेमा तत्काल उपचारको पद्दती भैदिए उत्पादन बढाउन सहज हुने गलकोट नगरपालिका ६ का नरबहादुर खत्रीले बताए । ‘धान त रोपेर लगभग सकियो, रोगकिराबाट बचाउन बेलाबेला उपचार र प्राविधिक साथ चाहिन्छ’ उनले भने, ‘समस्या पर्नासाथ समयमा औषधी पाइयो भने उत्पादन बढ्छ ।’ नत्र लगानी खेर जाने उनले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->