बागलुङ/राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत बागलुङ नगरका महिलालाई हाउस किपिङ र वेटर तालिम शुरु भएको छ । ५ दिनसम्म तालिम संचालन हुनेछ ।
बागलुङ नगरपालिका र होटल व्यवसायी संघ बागलुङको आयोजनामा तालिम शुरु भएको हो । तालिममा ४० जना महिलाहरु सहभागि छन् ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले सीपले नागरिकलाई दक्ष बनाउने भन्दै दक्ष नागरिक जुनसुकै क्षेत्रमा बिक्न सक्ने बताए । उनले आफ्नै कमाइ बढाएर जान सकेमा समाजमा हुने विभेद अन्त्य हुने पनि बताए । सीपमा जोडिएका जो–कोहीले नेपालमा राम्रो काम गर्ने र विदेशमा गएकाहरुले पनि आर्कषक कमाइ गर्न सक्ने गरी काम पाउने बताए ।
कार्यक्रममा अन्तरपार्टी महिला संजालकी अध्यक्ष सीतादेवी सापकोटा कँडेल, होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल, वेटर प्रशिक्षक विमला थापा र हाउस किपिङ प्रशिक्षक प्रियंका थापा मगरले पनि मन्तव्य राखेका थिए । उनीहरुलाई विषय अनुसार फरक फरक होटलको व्यवस्थापनमा राखेर तालिम दिइने छ ।
उद्घाटन सत्र नगर उपप्रमुख राजु खड्काको अध्यक्षता र महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मीको संचालनमा सम्पन्न भएको थियो । नेपाल सरकारले दिएको सशर्त अनुदानतर्फ राष्ट्रपति महिला उत्थान कार्यक्रममा यो तालिम संचालन हुनेछ । तालिमबाट दक्ष भएकाहरुलाई उद्यमी बन्ने अवसर सिर्जना गर्न पनि नगरपालिकाले काम गर्ने बताइएको छ ।





