बागलुङ/वर्षातमा हुने मनसुनजन्य विपत् तथा अन्य दुर्घटना न्यूनीकरणका लािग नेपाली सेनाले विपत प्रतिकार्य योजना तथा घटना अभ्याससहितका १० वटा कार्यक्रम एकैपटक गर्ने भएको छ ।
२३ नम्बर बाहिनीको नेतृत्वमा धौलागिरिका चारवटै जिल्लाका गण र गुल्म तथा नेपाल प्रहरी र सशष्त्र प्रहरी बलसमेतको सहाकार्यमा पर्वतको मोदीमा उक्त कार्य गर्न लागेको बाहिनीपति जगतबहादुर पौडेलले जानकारी दिए । आइतबार आयोजित सरोकारवालाको बैठकमा उनले अभियानका कामहरु सुरु भैसकेको र असार २२ गते मोदी जलविद्युत आयोजना नजिकै नमूना अभ्यास गर्ने बताए ।
यो अभियानका लागि सेनाका दक्ष प्राविधिक तथा विपत् प्रतिकार्य योजना निर्माणमा खटिएका अधिकृत तथा अन्य दर्जाका सिपाहीले काम थालिसकेका हुन् । त्यसअघि स्थानीय जनतालाई पनि विपतबारे सचेतना फैलाउने, खोजी उद्दार तथा राहत वितरणमा कसरी काम गर्ने भन्ने बुझाउने क्रियाकलाप समेत जोडिने छन् ।
यो अभियानक ालािग मुख्यमन्त्री नै सहभागि हुने गरी कार्यक्रम तय भएको सेनाले जनाएको छ । उक्त अभियानमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारहीसहित सुरक्षा निकाय, राजनीतिक दल, स्थानीय तह, सामाजिक संघसंस्था, रेडक्रस, पत्रकार, विद्यार्थी र एनसिसि क्याडेटहरुको सहकार्य हुने भएको हो । यो अभियानलाई सेनाले गण्डकी प्रदेश स्तरीय कार्यक्रमको नाम दिएको छ ।
विद्युत सर्ट भएर आगो लागेमा कसरी निभाउने, उद्दार गर्ने, सडक दुर्घटनाको खोजी उद्दार र न्यूनीकरण, बाढी पहिरोसहितका घटनाबाट बचाउने, विपतमा परेकाहरुको राहत वितरण, पुनस्थापना जस्ता बिषयमा पनि नमूना अभ्यास गरिनेछ । घाइतेलाई तत्काल उद्दार गरेर अस्पताल पठाउन एम्बुलेन्स तयार पार्नेदेखि स्वास्थ्यकर्मीले गर्नुपर्ने उपचार सेवाबारे पनि अभ्यास गराइने गरी सेनाले आफ्ना बाहिनी, गण र गुल्म मात्र नभइ अन्य क्षेत्रबाट समेत सहकार्य गर्न लागेको हो ।
कार्यक्रममा दुवै जिल्लाका रेडक्रस सभापति, प्रशासन, नगरपालिका, प्राविधिकहरु, सुरक्षा निकाय र संचारकर्मीबीच अन्तरक्रिया, सुझाव तथा काममा भएको प्रगतीबारे प्रस्तुतीकरण भएको थियो । सेनाले हरेक वर्ष विपत प्रतिकार्य योजना अनुसार काम गरिरहेको छ । त्यसबाहेक तत्काल आइपर्ने जुनसुकै घटना र विपतमा अग्रभागमा रहेर काम गरेको छ । त्यसमा स्थानीय तह र जनताको संयुक्त अभ्यास कसरी प्रभावकारी बनाउन सकिन्छ भन्दै आम नागरिकलाई पनि बुझाउन सबैलाई उक्त कार्यक्रममा आउन पनि पौडेलले आब्हान गरेका छन् ।





