बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८१, सोमबार

पोखरा/ पोखरा– १४ काजीपोखरस्थित कालिका बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा यही असार १२ गते क्याम्पसलाई ‘क्युएए’ प्रदान गरेको हो ।

लामो समयदेखिको मेहनत र प्रयासपछि सबै चरण पार गरी क्युएए प्राप्त भएको क्याम्पस प्रमुख विरन्जी गौतमले बताए । क्युएए शैक्षिक गुणस्तरका निम्ति अन्तर्राष्ट्रिय मापन भएकाले सो प्रमाणपत्र पाएका क्याम्पसमा अध्यनरत विद्यार्थीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सहज हुने उनको भनाइ छ । क्याम्पसले नीति र प्रक्रिया, शिक्षण, सिकाई र मुल्यांकन, अनुसन्धान, पूर्वाधार र सिकाईलगायत विभिन्न ८ वटा मापदण्ड पुरा गरी २०७८ कात्तिक २३ मा आशयपत्र पेश गरेको थियो ।

त्यसपछि स्वअध्ययन प्रतिवेदन तयार पारी त्यससंग सम्बन्धित सम्पूर्ण प्रमाणित कागजातहरु सहित २०७९ असार २२ गते विश्वविद्यालय अनुदान आयोगमा पेश गरिएको क्याम्पसले जनाएको छ । उक्त स्वअध्ययन प्रतिवेदन आयोगका प्राविधिक विज्ञद्वारा परीक्षण एवं जाँच गरी २०७९ असोज ७ गते स्वीकृत भएको थियो । २०७९ मंसिर १८ गते अनुदान आयोगद्वारा क्याम्पससंग सम्बन्धित संचालक समिति, प्रशासन, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, समुदाय, रोजगारदाता संस्थासंग प्रत्यक्ष छलफल गर्न र क्याम्पसको स्थलगत निरीक्षणका लागि प्राडा बासुदेव काफ्लेको संयोजकत्वमा तीन सदस्यीय टीम गठन भयो ।

उक्त टीमले २०७९ माघ २९ देखि फागुन २ सम्म र २०८० साउन २३ देखि २७ गतेसम्म छलफल एवं स्थलगत निरीक्षण पश्चात् क्याम्पसले सुधार गर्नुपर्ने अल्पकालिन र दीर्घकालिन सुझावसहितको प्रतिवेदन तयार पारी क्याम्पसलाई त्यसै बमोजिम सुधार गरि प्रतिवेदन बुझाउन सुझाव दिएको थियो । क्याम्पसले सोही सुझाव अनुसार आवस्यक सुधार गरी कागजात आयोगमा पेश गरेकेमा आयोगले २०८१ जेठ ३ गते प्रमाणपत्र दिने निर्णय गरेको थियो ।

यो प्रमाणपत्र प्राप्तीसंगै क्याम्पसमा विद्यार्थी भर्ना बढ्ने, उत्तीर्ण प्रतिशतमा बृद्धि हुने, सक्षम व्यवस्थापन तथा प्रशासन, अनुसन्धानमूलक क्रियाकलाप, राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमिनार, गोष्ठी, तालिम संचालन तथा सहभागिता, भौतिक संरचना, क्युएएको लोगो प्राप्त प्रमाणपत्रका कारण विदेशी विश्वविद्यालयमा अध्ययन अवसर पाउनुका साथै प्रतिष्ठित कम्पनीले सिधै क्याम्पसबाट उत्तीर्ण विद्यार्थीलाई रोजगारीको अवसर प्रदान गर्ने गौतमले बताए ।

क्याम्पसले अव बिबिए, बिएचएम, बिटिटिएम का कक्षा संचालनको तयारी गरेको छ । साथै स्वायत्तता कार्यक्रम अन्तर्गत बिबिए (एलएलएम) कार्यक्रम संचालन गर्न आवस्यक प्रक्रिया अघि बढाएको क्याम्पसले जनाएको छ । हाल क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षा संकायमा स्नात्तकोत्तर, स्थानक र प्लस टु गरी ९ वटा शैक्षिक कार्यक्रम संचालनमा छन । स्नात्तकोत्तर तहमा ग्रामीण बिकास विषयको अध्यापन गराउने यस क्षेत्रको एकमात्र क्याम्पस हो यो । क्याम्पसमा एकहजार ५ सय बढी विद्यार्थी छन ।

लामो समयको निरन्तर मेहेनेत र स्थानीयदेखि सबैको साथ र सहयोगका कारण क्याम्पस क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पस संचालक समितिका अध्यक्ष किरण केसीले बताए । आगामी दिनमा थप विषयका कक्षाहरु सञ्चालनसँगै भौतिक र शैक्षिक गुणस्तरको योजना रहेको उनको भनाइ छ । ‘सबैको टीम स्प्रिटले ऐतिहासिक सफलता हो, प्रमाणपत्र प्राप्त गर्नुमात्र ठूलो होइन यसको निरन्तरता महत्पूर्ण हो’ उनले भने, ‘क्याम्पसको सफलताका लागि निरन्तर लागिरहने छु ।’ क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायत अन्य सुविधा प्राप्त हुने गर्छ । क्याम्पस २०४८ सालमा स्थानीय समुदायको पहलमा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->