बागलुङ/सरकारी निकायबाट प्रवाह हुने सेवा सुविधा लिने प्रक्रिया झन्झटिलो हुँदा नागरिकले सास्ती खेपेका थुप्रै उदाहरण छन् । सरकारी सेवा नागरिकमैत्री नहुने र सेवा लिँदा लाइनमा बस्नुपर्ने प्रवृत्तिले सर्वसाधारण दिनहुँ पीडित छन् । सरकारी सेवाको गुणस्तर र ढिलासुस्तीले सर्वसाधारणको सकारात्मक बन्न सकेको छैन ।
नागरिकमा बढ्दै गएको निराशा र नकारात्मक धारणा चिर्न जिल्ला प्रशासन कार्यालय बागलुङले सरकारी सेवा प्रवाहलाई सरल, सहज र नागरिकमैत्री बनाउने अभियान थालेको छ । असक्त वृद्ववृद्वाको लागि धौलागिरि अस्पतालसंगको सहकार्यमा व्हीलचियर व्यवस्था गरेको प्रशासनले मिनी पुस्तकालय समेत स्थापना गरेको छ ।
नागरिकले राज्यबाट सेवासुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग अनिवार्य गर्दै जाने सरकारले रणनीति अघि सारेपछि प्रशासनमा युवादेखि असक्त वृद्ववृद्वाको भीड बढ्न थालेपछि प्रशासनले स्वास्थ्य परिक्षण कक्ष संचालनमा ल्याएको छ । जेष्ठ नागरिकलाई लक्षित गरी ‘स्वास्थ्य परिक्षण कक्ष’ संचालनमा ल्याईएको हो ।
राष्ट्रिय परिचय पत्र, राहदानी लगायतका सेवा लिन जेष्ठ नागरिकहरु सेवाग्राहीको रुपमा आउने क्रम बढ्न थालेपछि उनीहरुको स्वास्थ्यलाई ध्यान दिंदै परिक्षण कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
कार्यकक्ष संचालनसँगै सेवाग्राही र प्रशासनसँगको सम्बन्ध सकारात्मक हुने प्रजिअ सुवेदीले विश्वास व्यक्त गरे । स्वास्थ्य परिक्षण कक्षमा रहने एक जना स्वास्थ्यकर्मीले सेवाग्राहीलाई सामान्य जाँचसँगै स्वास्थ्य परामर्श प्रदान गर्ने छन् । कक्षबाट सिटामोल, जिवनजल लगायतका औषधी पनि प्रदान गरिने छ ।
स्वास्थ्य परिक्षणका लागि बागलुङ नगरपालिकाले स्वास्थ्यकर्मी र औषधीको व्यवस्थापन गरेको नगर स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिए । स्वास्थ्य परिक्षणका क्रममा थप जटिलता देखिए सेवाग्राहीलाई स्वास्थ्य जाँचका लागि सल्लाह सुझाव समेत दिईने खनालले बताए ।





