बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुगंगा पुरस्कारबाट पत्रकार महासंघ, केशरी र शर्मा पुरस्कृत

सुगंगा पुरस्कारबाट पत्रकार महासंघ, केशरी र शर्मा पुरस्कृत


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८१, मंगलबार

बागलुङ/सुगंगा स्मृति कोषले तीन वर्षको सुगंगा स्मृति पुरस्कार तथा सम्मान प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ, पुराना पत्रकार रमेशानन्द केशरी र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई सुगंगा स्मृति पुरस्कारबाट सम्मानित गरिएको हो । सबै पुरस्कार तथा सम्मान २५ हजार नगद सहितको छ ।
नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष रहेका पाका पत्रकार बिदुर खड्काले आफ्नी माता सुमित्रा र पत्नि गंगाको स्मृतिमा २०६५ सालमा स्थापना गरेको कोषले हरेक वर्ष पत्रकारिता, शिक्षा, समाजसेवा, संगीत लगायतको क्षेत्रमा योगदान गर्नेलाई पुरस्कार र सम्मान गर्दै आएको छ । कोषका अध्यक्ष काजी रोशनले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यो वर्ष विभिन्न कारणले रोकिएका ३ वटा पुरस्कार वितरण गरिएको बताए । महासंघलाई संस्थागत रुपमा पुरस्कार दिइएको हो भने केशरी र शर्मालाई व्यक्तिगत रुपमा पुरस्कार दिइएको हो ।
जिल्लाको पत्रकारितामार्फत समाजलाई योगदान दिएको भन्दै कोषले २०७८ सालको सुगंगा पुरस्कार दिएको हो । उक्त वर्ष संस्थापक खड्काको निधन भएकोले पुरस्कार रोकिएको थियो । ८८ वर्षिय केशरीलाई पनि पुराना पत्रकार भएकै आधारमा सम्मान गरिएको हो । बागलुङ नगरपालिका वडा नं. १ घर भएका केशरी हाल भैरहवामा बस्दै आएका छन् । शर्मा २०३३ सालदेखि शिक्षण पेशामा संलग्न थिए । जैमिनी नगरपालिका १० को पाही घर भएका शर्माले शिक्षक, विद्यालय निरीक्षक, जिल्ला शिक्षा अधिकारी, शिक्षा विभागको महानिर्देशक, क्षेत्रीय प्रशासक र नेपाल सरकारको सचिवको रुपमा काम गरेर २०७२ सालमा सेवा निवृत्त भएका थिए ।


पुरस्कार पाएपछि शर्माले शिक्षा क्षेत्रको विकासमा सबैको चासो र चिन्तन हुनुपर्ने बताए । उनले ग्रेड वृद्दि नभएसम्म कुनैपनि विद्यार्थीलाई उच्च शिक्षामा जाने बाटो खोल्दा गुणस्तरीयता नरहने बताए । त्यसका लागि सबै विद्यार्थीलाइ ग्रेड वृद्धिको अवसर दिइएको स्पष्ट पारे । उनले शिक्षाको गुणस्तर विकाससँगै आफ्नै माटोमा अडिने शिक्षा पनि चाहिएको बताए ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै महासंघका सचिव विजय रानाले पाका पत्रकारले स्थापना गरेको कोषबाट सम्मान पाउँदा महासंघ र पत्रकारको रुपमा समाजमा थप योगदान गर्ने प्रेरणा मिलेको बताए । उनले महासंघको इतिहास गौरवमय रहेको पनि बताए । कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, विश्वनाथ रेग्मीको संचालन र धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->