बागलुङ/असारको पहिलो साता सानो सानो पहिरो खसेपछि काठेखोला गाउँपालिका ८ को लेखानी जाने सडक अवरुद्ध हुन थालेको थियो । जोखिम मोलेर पनि छिटफुट सवारी जाँदै थिए । तर, असार ६ गतेको पहिरोले यातायात सबै ठप्पै भयो । सवारी मात्र हैन, पैदलयात्री समेत हिंड्ने बाटोको नाम निसाना मेटियो ।
त्यसपछि वडा नं. ६ को सुल्डाँडादेखि ८ को लेखानी जाने सडक पुरै ठप्पै छ । भुँदी खोलामा आएको पहिरोले यातायात ठप्प हुनुको साथै पक्की पुल पनि जोखिममा परेको छ । नजिकमा पैदलयात्रा गर्ने बाटो नभएपछि स्थानीयले गाउँपालिका कार्यालय आउजाउ गर्न तीन घण्टाको घुमाउरो बाटोमा पैदलयात्रा गर्न बाध्य भएका छन् ।
यो पहिरो निरन्तर खसिरहेकोले मानवीय घटना हुन सक्ने चिन्ता बढेको वडा नं. ८ का अध्यक्ष प्रमानन्द कँडेलले बताए । ‘हामी नै पालिकामा जाने बाटो नभएपछि वडा नं. ५ को पोखराहुँदै ६ को बाटो हिंड्न बाध्य भएका छौं’ कंडेलले भने, ‘तत्काल पन्छाएर पहिरो नियन्त्रणको प्रयास गरिनुपर्नेमा सरोकारवालाको ध्यान गएको छैन ।’ गाउँपालिकाको परिषदमा जाँदा वडा समितिका सदस्यहरुले तीन घण्टा पैदल हिंड्नु परेको उनले गुनासो गरे ।
शुरुमा गाउँपालिकाले चासो नदिंदा विस्तारै पहिरो बढेर गएको छ । पहिरोले वडा नं. ८ को छ सय भन्ने गाउँ समेत जोखिममा परेको हो । ‘गाउँका किसानले उत्पादन गरेको तरकारी र दूध बजार पठाउन नपाएको दुइसाता भैसक्यो, हामीले कसरी जीवन कटाएका छौं भन्ने कसैले चासो राखेको छैन’ स्थानीय गौमती सुनारले भनिन्, ‘घरबारीमै पहिरो आएपछि छिमेकीको घरमा बस्न बाध्य छौं ।’ सुनारसहित स्थानीय लालबहादुर रोका र मीनप्रसाद पुनको परिवार विस्थापित भएका छन् । यहाँको सिरिमपाटा भन्ने बस्तीका २५ घर जोखिममा परेको कंडेलले बताए ।
पहिरोको समस्याबारे वडा अध्यक्षले जिल्ला दैविप्रकोप उद्दार समितिमा पनि खबर गरेका छन् । प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले ढिलागरी सूचना पाएकोले के गर्न सकिन्छ खोजी हुने बताए । तत्कालीन जिल्ला भू–संरक्षण कार्यालयले भुँदीखोला जलाधार क्षेत्र भनेर काठेखोला गाउँपालिका वडा नं. ८, ७ र ६ लाई उच्च जोखिमको सूचिमा राखेको थियो । हाल कार्यालय खारेजीमा परेपछि योजना छैन । ‘दिगो भू–संरक्षण योजनाको रुपमा कार्यक्रम थियो, खारेज भएपछि बस्ती नै जोखिममा भयो,’ कँडेलले भने, ‘भू–संरक्षणका योजना नल्याए यहाँ धेरै समस्या पर्ने अवस्था छ ।’
त्यस्तै मंगलबार बिहानदेखि परेको वर्षातले ओखलेमा खसेको पहिरोपछि लेखानी माविको खेलमैदान चर्केको छ । कक्षाकोठाभित्र पनि धाँजा फाटेकोले विद्यार्थी पढाउन समेत जोखिम भएको प्रधानाध्यापक खिमानन्द कँडेलले जानकारी दिए । हाल वर्षे बिदा भएकोले विद्यार्थी नहुँदा सुरक्षित भएपनि विद्यालय खुलेपछि कसरी पढाउने भन्ने दोधारमा परेको उनले गुनासो गरेका छन् ।





