काठमाडौं / सत्ताको सबैभन्दा ठूलो दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरूले बालुवाटार पुगेर प्रचण्डलाई राजीनामा बुझाएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजिनामा बुझाएका हुन् ।
राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्री प्रचण्डले कुनै राजनीतिक टिप्पणी गरेनन् । प्रधानमन्त्रीले गायक फत्तेमानको एउटा गीत सम्झिए, ‘मैले एउटा गीत सम्झिरहेको छु- ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले‘ कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले‘ मेरो योभन्दा बढी भन्नुपर्ने केही छैन ।’
सोमबार मध्यरातमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति गरेका थिए ।





