बागलुङ/जिल्लाका अधिकांश खानेपानीका मुहानमा दिशामा पाईने किटाणु (कोलीफर्म) पाइएको छ । स्वास्थ्य कार्यालय बागलुङले परीक्षण गरेका अधिकांश खानेपानीको मुहान तथा धाराको नमुना परीक्षणमा दिशामा पाईने किटाणु भएको भेटिएको हो ।
दश स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य कार्यालयले खानेपानीको नमुना परीक्षण गरेको थियो । परीक्षणका क्रममा ताराखोला गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहका विभिन्न खानेपानीका मुहानमा कोलीफर्म भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
२ सय ५४ खानेपानीका मुहानको पानी परीक्षण गर्दा १ सय ५ खानेपानीका मुहानमा मानव दिशामा पाइने किटाणु भेटिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन निरीक्षक डिल्लीप्रसाद आचार्यले जानकारी दिए ।
१० स्थानीय तहमध्ये नौ मा स्वास्थ्य कार्यालयका प्राविधिकको टिमले खानेपानीको नमुना परीक्षण गरेको छभने बडिगाड गाउँपालिकाले आफ्नै स्रोत–साधनले खानेपानीको मुहानमा नमुना परीक्षण गरेको थियो । जिल्लामा सबैभन्दा बढी परीक्षण जैमिनी नगरपालिकामा ९८ पानीका मुहान तथा धाराको नमुना परीक्षण गरिएको थियो । जैमिनीमा मात्रै ४६ स्थानका खानेपानीको मुहानमा ‘कोलीफर्म’ भेटिएको छ । नगरका आठवटा खानेपानी मुहानमा कोलीफर्मको मात्र सबैभन्दा बढी रहेको स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
तमानखोला गाउँपालिकामा ६१ वटा मुहानको खानेपानी परीक्षण गर्दा १३ स्थानमा ‘कोलीफर्म’ भेटिएको छ । ढोरपाटन नगरपालिकामा २० स्थानमा परीक्षण गर्दा नौ र काठेखोला गाउँपालिकाका १० खानेपानी आयोजना तथा मुहानमा गरिएको परीक्षणमा चार स्थानमा कोलीफर्म भेटिएको ल्याब आचार्यले बताए ।
गलकोटका २३ स्थानमा गरिएको नमुना परीक्षणमा १३, निसीखोला गाउँपालिकाका ८ स्थानमा परीक्षण गर्दा तीन, बरेङका ६ स्थानको मुहानको पानी परीक्षण गर्दा तीन स्थानमाा कोलीफर्म भेटिएको छ । ताराखोलामा नमुना परीक्षण गरिएको खानेपानी आयोजना र मुहानमा कोलीफर्मको मात्रा भेटिएको छैन ।
आफ्नै उपकरण र प्राविधिक परिचालन गरी १५ स्थानको खानेपानीको नमुना परीक्षण गर्दा ११ स्थानमा ‘कोलिफर्म’ भेटिएको वडिगाडका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीले जानकारी दिए । बडिगाडलाई स्वास्थ्य कार्यालयको समन्वयमा विश्व स्वास्थ्य संगठनको सहयोगमा खानेपानी परीक्षण मेसिन प्रदान गरेपश्चात् गाउँपालिका तहमा परीक्षण सुरु गरेको हो ।





