बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मृगौला पीडितलाई १ लाख आर्थिक सहयोग

मृगौला पीडितलाई १ लाख आर्थिक सहयोग

गण्डकीमा छिट्टै डायलासिसलाई पालो कुर्न नपर्ने, मृगौला जाँच गराउन डाक्टरको सुझाव


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८१, आइतबार

पोखरा/पोखराको प्रतिष्ठित व्यापारिक घराना कर्मचार्य ग्रुपका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्नी धर्मपत्नी लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा मृगौला पीडित सहयोग कोषको स्थापना गरेका छन् । मृगौला पीडितहरुलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित सो कोषले विपन्न तथा असहाय परिवारका मृगौला पीडितलाई सहयोग गर्छ ।
अघिल्लो वर्ष स्थापित सो कोषमार्फत् शनिबार पोखरा १४, परिवर्तन टोल बस्ने वर्ष ३२ की मृगौला पीडित लक्ष्मी विश्वकर्मालाई एक लाख रुपैयाँ नगद सहयोग गरिएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत रहेका चन्द्रकृष्ण कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कर्माचार्य समाजका केन्द्रीय अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, भीरकोट नगरपालिका स्याङजाका प्रमुख गोविन्द कर्माचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा ११ का अध्यक्ष प्रेम कर्माचार्यलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य पुरस्कार दाता दिवंगत लक्ष्मीसुन्दरी कर्माचार्यका छोरा तथा कर्माचार्य हाउसका निर्देशक माइकल कर्माचार्यले गरेका थिए । कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
गण्डकीका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले मृगौला पीडितको डायलासिसको लागि पालो कुर्न नपर्ने अवस्था सिर्जजा गर्ने घोषणा गरेका छन् ।
प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको र अब छिट्टै नै शून्यमा झार्ने प्रयास भइरहेको उनको जिकिर छ । उनले पैसाको अभावमा कसैले पनि उपचारबाट बञ्चित हुन नपर्ने दाबी पनि गरे ।
‘गण्डकी सरकारले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन,’उनले भने ।
स्वास्थ्य बीमामा सोचेजस्तो प्रगति हुन नसकेता पनि यसको व्यवस्थापनमा सरकार लागिरहेको उनले बताए ।
नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले स्वास्थ्यमा जनचेतनाको आवश्यकता रहेको बताए । नेपाल उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सर्ने रोग सँगसँगै नसर्ने रोगको नियन्त्रणमा राज्यले लगानी गर्नुपर्ने आवश्यकता औल्याए ।
डा.अभिषेक मास्केले सुगर र उच्च रक्तचापका कारण मृगौलामा समस्या पर्ने उल्लेख जानकारी दिए । प्रत्येक ६ महिना वा वर्ष दिनमा मृगौलाको जाँच गर्न पनि उनले सुझाए । आधाभन्दा बढी बिरामी मृगौला बिग्रेपछि मात्रै उपचारका लागि आउने गरेको बताउँदै उनले मोटोपना, रक्सी, चुरोट र सूर्तीजन्य पदार्थको सेवन गर्नाले मृगौला रोग लाग्ने गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->