बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वर्षाले ग्रामीण सडक र राष्ट्रिय राजमार्ग क्षतविक्षत

वर्षाले ग्रामीण सडक र राष्ट्रिय राजमार्ग क्षतविक्षत

सडक ठप्प हुँदा दक्षिण क्षेत्रका किसानले दूध र तरकारी ढुवानी गर्न पाएका छैनन् ।


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८१, आइतबार
फाइल तस्विर

तस्बिर जिप्रका बागलुङ

बागलुङ/लगातारको झरीले बागलुङका ग्रामीण सडक र राष्ट्रिय राजमार्ग समेत क्षतविक्षत भएका छन् । सडकमा सवारी गुड्न सकेका छैनन् भने ग्रामीण बस्तीका किसानले आफ्नो उत्पादन समेत बजार पठाउन सकेका छैनन् ।
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा खसेका पहिरोले यातायात ठप्प जस्तै भएको हो । त्यसबाहेक चार वर्षदेखिको पहिरोले दुःख दिइरहेको बागलुङ नगरपालिका वडा नं. १० को एक्लेसालमा यो वर्षातमा पनि सास्ती बढेको छ । पहिरो नियन्त्रणका लािग भएका सबै लगानी बगेपछि सदरमुकामबाट दक्षिणका गाउँ जानेले हैरानी खेप्नुपरेको हो ।
मालढुंगादेखि कुश्मीसेरा जाने सडक बग्दा कालीगण्डकी करिडोरको सडक पनि बगाएको हो । तत्काल मर्मत गरेर सवारी चलाउन पनि कठिन हुने गरी पहिरो खसेको, सडक कटान भएको र जोखिम बढीरहेकोले मर्मत गर्न कठिन हुने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । पहिरोले बागलुङ नगरपालिका १० को दब्ल्याङ गाउँ जोखिममा छ । स्थानीयले बजार आएर दैनिक लैजाने गरेको बंगुरको दाना समेत लैजान नसक्ने अवस्था भएको गुनासो गरे ।
सडक ठप्प हुँदा दक्षिण क्षेत्रका किसानले दूध र तरकारी ढुवानी गर्न पाएका छैनन् । बिरामीको उपचारमा सदरमुकाम आउने बाटो पनि बन्द भएको छ । कतिपयले बलेवास्थित झोलुंगे पुल तरेर पर्वत जानुपर्ने बाध्यता भएको बताए । दैनिक जिपमा दूध बजार पठाएका जैमिनी ८ छिस्तीका रघुनाथ पौडेलले घरमै जमाएर दही घिउ बनाउन बाध्य भएको बताए । दूध बेच्दा आउने नगद उनले कमाउन सकेका छैनन् ।
एक्लेसाल पहिरो र करिडोर तत्काल खुलाउन नसक्ने गरी पहिरो चलिरहेको छ । यो पहिरोले मालढुंगा–कुश्मीसेरा सडकको दुइवटा घुम्ती बगेको छ । चार वर्षदेखि यो पहिरोले यात्रीलाई दुःख भएको छ । जैमिनी नगरपालिका वडा नं. ५, ६ र ७ मा पनि दर्जन पहिरो खसेपछि करिडोरको यातायात रोकिएको हो ।
दुई सातादेखि बन्द भएको काठेखोलाको लेखानी जाने सडक अझै संचालनमा आउन सकेको छैन । भूदिखोला पहिरोले स्थानीयको घरसमेत जोखिममा परेको छ । उता गलकोटदेखि ताराखोला, ढोरपाटन जाने सडक, सिगाना, बरेङ शान्तिपुर सडक पनि ठप्प भएको छ । पहिरो र झरीले बजारक्षेत्रबाहेक अन्यत्र पैदल यात्रा गर्न पनि जोखिम भएकोले सचेत रहन जिल्ला प्रशासनले आग्रह गरेको छ ।
वर्षातले खहरेखोलामा बहाव बढेपछि ताराखोला, बडिगाड, काठेखोला लगायतका पालिकाले जथाभावी घर बाहिर नहिंड्न पनि सुझाएको छ । कतै सवारी चढेर हिंड्नै परेपनि कोदालो, बेल्चा र गैची बोकेर हिंड्न आग्रह गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->