पोखरा/ पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालिन करार प्राध्यापकले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोकामा दवावमूलक धर्ना शुरु गरेका छन् । त्यसैगरी नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आफ्ना विभिन्न मागहरु राखेर केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् ।
विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकको सेवा अवधि नथपि नयाँ विज्ञापनमा जाने निर्णय विरुद्ध करार प्राध्यापक आन्दोलनरत छन् । ‘विश्वविद्यालयले लामो समयसम्म सेवा आयोगको विज्ञापन खोलेको छैन’ धर्नामा सहभागी करार प्राध्यापक प्रकाश थापाले प्रश्न गरे, ‘करारको ठाउँमा अर्काे करार सेवाको विज्ञापन किन चाहियो ?’
हाल विश्वविद्यालयमा ७१ जना पूर्णकालिन करार प्राध्यापक तथा प्राविधिक सेवारत छन् । स्थायी सेवामा रहेका प्राध्यापक पदाधिकारी बन्नका लागि तथा पिएचडी अध्ययन गर्नका लागि बिदामा बसेपछि हाल विश्वविद्यालयमा करार र स्थायी प्राध्यापकहरुको संख्या आधा आधा छ । आन्दोलनको पहिलो चरण अन्तर्गत शुक्रबार करार प्राध्यापकले उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, डिन कार्यालय, परीक्षा नियन्त्रकको कार्यकक्ष, सबै स्कूल निर्देशकको कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कूल प्रशासन कार्यालय तालाबन्दीको गरेका थिए ।
विद्यार्थी संगठनको संयुक्त तालाबन्दी
आइतबार नै नेपाल विद्यार्थी संघ र अनेरास्ववियूका विद्यार्थीहरुले पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय र स्कूल अफ ईञ्जीनियरिंगको मूलढोकामा संयुक्त तालाबन्दी गरेका छन् । विद्यार्थी संगठनहरुले शुक्रबार अन्तिम सेमेष्टरका विद्यार्थीहरुको परीक्षा तालिका एवम् नतिजा प्रकाशन भाद्र २० अगावै गर्नका लागि ज्ञापन पत्र बुझाएका थिए ।
आइतबार नेपाल विद्यार्थी संघ स्कूल अफ ईञ्जीनियरिंगका सभापति सन्दिप अधिकारी तथा अनेरास्ववियु स्कूल अफ ईञ्जीनियरिंगका अध्यक्ष सागर केसीले हस्ताक्षर गरेको विज्ञप्तीमा ईञ्जीनियरिंग परिषद्को लाइसेन्सको परीक्षा अगावै विश्वविद्यालयले अन्तिम सेमेष्टरको नतिजा प्रकाशनको ग्यारेन्टी माग गरेका छन् ।
आन्तरिक परीक्षा समेत स्थगित
पोखरा विश्वविद्यालयमा कार्यरत पूर्णकालिन करार प्राध्यापकहरुको पेन डाउनका कारण स्कुल अफ इञ्जीनियरिंगको आन्तरिक परीक्षा स्थगित भएको छ । हाल जारी आन्तरिक परीक्षामा करार प्राध्यापकहरुले प्रश्नपत्र बनाउन तथा निरिक्षकका रुपमा काम नगर्ने भएपछि परीक्षा सञ्चालन गर्न नसकिएको आन्तरिक परीक्षा संयोजक अनिलमणी भण्डारीले जनाएका छन् ।





