बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सिकाइमा प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम

सिकाइमा प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम

जंकफुड घट्दो, सबै विद्यार्थीलाई एउटै खाजा


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८१, सोमबार

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–९ नेप्टेचौरको राष्ट्रिय माविमा कक्षा १ मा पढ्ने साहिल परियारले विद्यालयमै खाजा खान पाउँछन् । साहिल नियमित विद्यालय जान्छन् । उनीजस्तै कक्षा १ मा पढ्ने सुविन मिजार, रोहिसा मिजार र रियाज नेपालीले पनि नियमित विद्यालयमा जान्छन् । साहिलका बुबा विनोद परियार दैनिक ज्यालामजदुरी गरी घरखर्च चलाउने गरेका छन् । सुविन, रोहिसा, रियाजका अभिभावकको पनि दैनिक मजदुरी नगरी बिहान, साझँ चुल्हो बल्दैन । घरमै बिहान बेलुका के खाने भन्ने स्थिति भएकाले उनीहरुले विद्यालय जाँदा खाजाको जोहो गर्न मुस्किल थियो ।
राष्ट्रिय माविको बालविकासदेखि कक्षा ५ सम्मका विपन्न बालबालिकाले विद्यालयमा नियमित खाजा त परको कुरा बिहान बेलुकी खानाको समेत टुंगो हुदैन ।दिवा खाजा कार्यक्रम लागू भएसँगै विपन्न परिवारमा जन्मिएका बालबालिकाले विद्यालयमै खाजा खान पाएका छन् । उनीहरूलाई विद्यालयले दिवा खाजामा पेटभरी खान दिन्छन् ।
विद्यालयकी प्रधानाध्यापक तारा चोखाल विपन्न परिवारका बालबालिकालाई दिवा खाजा बरदान सावित भएको बताउँछिन् । विद्यालयमा भोकभोकै बस्नुपर्ने अवस्थामा घरबाटै जान आनकानी गर्ने विद्यार्थीहरू अहिले नियमित विद्यालयमा प्रवेश गर्ने गरेको प्रअ चोखालको भनाई छ ।
सदरमुकाम बेनीबजारको कालीपुलमा अवस्थित बालमन्दिर माविमा सन्ध्या साहनीकी आमा धुपिया र रेस्मा परियारकी आमा रुपाले दिवा खाजाले धेरै सजिलो बनाएको छ । नियमित खाजाका लागि बालबालिकालाई दिने नगदको हिसाव नभएपनि अभिभावकाको न्यूनतम १५ देखि ३ हजारसम्म दिवा खाजामै जोगिएको प्रधानाध्यापक सुरेन्द्र केसीले बताए ।
‘हाम्रो विद्यालयमा ९० प्रतिशतभन्दा धेरै बालबालिका गरिबीको रेखामुनी छन्,उनीहरूलाई दिवा खाजाले सहज बनाएको छ, हामीले विद्यार्थीलाई सहज हुने गरी नै खाजाको ब्यवस्थापन गछौं’ प्रअ केसीले भने । उनले आमाबुबाको अवस्था हेरेर दिवा खाजालाई नै पेटभरी खुवाउनुपर्ने अवस्था रहेको बताए ।
बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत यूरिम दर्जी, र कक्षा २ का निसु किसानको नियमित विद्यालय आउने एउटा आधार दिवा खाजा पनि हो । यूरिमका बुबा लालबहादुर र निसुका बुबा हरि किसानको कमाईले घरखर्च पनि नचल्ने अवस्थामा अहिले नियमित खाजाले निकै सहज भएको छ । दिवा खाजाका कारण विद्यार्थीहरु भोकै बस्नु नपर्ने भएको छ ।
दिवा खाजाले अभिभावककोे आर्थिक तथा घरधन्दा समेत छोटिएको विद्यालयकी शिक्षक घनदेवी घर्ती मगरको भनाइ छ । खाजा खान पाउने भनेपछि बालबालिका पनि स्कुल जान रमाउने गरेको बताउँदै स्वादिलो र अर्गानिक खाजालाई प्रोत्साहन गरिएको उनको भनाई छ । दिवा खाजाका कारण विद्यार्थीहरु भोकै बस्नु नपर्ने भएको छ ।
प्रारम्भिक बालविकासदेखि कक्षा ५ कक्षासम्म नेपाल सरकारले दिवा खाजा कार्यक्रम लागू गरेको छ। बालबालिकाको वृद्धि र विकासका लागि खाना अनिवार्य तत्व भएकाले नगरभित्रका विद्यालयलाई अर्गानिक,पोषणयुक्त खाजा खुवाउन तालिम समेत दिइएको शिक्षा शाखा प्रमुख उपसचिव हेमचन्द्र पौडेलको भनाई छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट स्थानीय तहलाई दिवा खाजा कार्यक्रमको रकम ससर्त अनुदानका रूपमा निकासा आउने गर्छ। दिवा खाजा व्यवस्थापनका लागि अभिभावकले समेत सघाउने गरेका छन् ।
विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ ले प्रतिदिन आवश्यक पोषणयुक्त तत्व भएका खानेकुरा व्यवस्था गर्नुपर्ने उल्लेख छ। यसमा क्यालोरी, प्रोटिन, बोसो, आयोडिन, आइरन, जिंक र भिटामिन ए गरी सात प्रकारका पोषणयुक्त तत्वको मात्रा मिलाउनुुपर्ने उल्लेख छ ।
मेनुुसमेत तयार पारेर कुन–कुन अन्न फलफूल, तेल प्रयोग गर्ने र त्यसको कति मात्रा प्रयोग गर्ने भन्ने स्पष्ट व्यवस्था गरिएको छ । बेनी नगरपालिकाले मापदण्ड अनुसार नै दिवा खाजा उपलब्ध गराउन चालु आवमा थरीथरीका अर्गानिक स्वाद खुवाउने गरी तालिम समेत सञ्चालन गरेको छ ।
नगरभित्रका विद्यालयमा दिवा खाजामा जंकफुडलाई रोक्न अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्ने उद्देश्यले अभिभावक, विद्यालयका चमेनागृह सञ्चालक र विद्यालयका प्रतिनिधिहरूलाई दुई दिनसम्म तालिमार्फत रैथाने बाली प्रवर्द्धनका कार्यक्रम अन्तरगत रैथाने बालीको परिकार विविधिकरण तालिममार्फत स्थानीय रूपमै उत्पादित अर्गानिक बस्तुबाट बनाउन सकिने १५–२० थरीका परिकारहरू सिकाइएको थियो । जंकफुड निषेध गरेकाले विद्यालयहरूले स्थानीय उत्पादनबाटै खाजा खुवाउनुपर्ने नगरपालिकाको ताकेता छ ।
दिवा खाजामा प्रयोग हुने खाद्य बस्तुमा अर्गानिकसँगै बालबालिकाको समेत रोजाईमा पर्ने गरी परिकार बनाउन तालिम दिइएको कृषि शाखाकी प्रमुख आकृति ढुंगानाको बताइन् । खाजा कार्यक्रमको बजेट विद्यालयले नगदै बाँड्दा त्यसको दुुरूपयोग हुने र नगद रकम बाँड्दा विद्यार्थीको हातमा नभई अभिभावकलाई बुुझाउन सक्ने भएकाले स्वादिलो अर्गानिक खाजामार्फत विद्यार्थीलाई आर्कषित गर्ने लक्ष्य अनुसार नै तालिममार्फत अर्गानिक परिकार सिकाउने वातावरण बनाइएको नगर प्रमुख सुरत केसीको भनाई छ ।
बालबालिकालाई उपलब्ध गराइने दिवा खाजाको गुणस्तरीयताका लागि जनप्रतिनिधिलाई समेत निगरानी गर्न निर्देशन दिइएको मेयर केसीको भनाई छ । नगरभित्रका विद्यालयले दिवा खाजामा आयात गरिएको खाजा (जङ्क फुड)लाई विद्यालयमा प्रतिबन्ध लगाउन तालिमले समेत सघाएको छ ।
बालबालिकालाई अर्गानिक खाजा खुवाउने विद्यालयलाई प्रोत्साहन समेत गरिने उपप्रमुख ज्योति लामिछाने बताउँछिन् । विद्यालयले विद्यार्थीलाई खाजा खुवाउनु भन्दा निर्देशन विपरित काम गरेमा सचेत बनाउने र अटेर गरेमा नियम अनुसार कारवाहीको प्रक्रिया थाल्नुभन्दा पहिला तालिम नै सञ्चालन गरी सचेत बनाइएको उपमेयर लामिछानेको भनाई छ । कोदो, गहुँ भटमास, रोटी, सिस्नो लगायत समुदायस्तरमै पाइने थरीथरीका अर्गानिक परिकारलाई प्राथमिकता दिने विद्यालयलाई अन्य प्रोत्साहनका कार्यक्रमहरु समेत तय गरिने बेनी नगरपालिकाले जनाएको छ । वास्तविक विद्यार्थी संख्याभन्दा बढी विवरण पेस गर्ने, अर्गानिकभन्दा बजारबाट खरिद गरेको खाजा खुवाउने विद्यालयलाई शैक्षिक सत्रको पहिलो महिनामै तथ्याङ्क मागेर खवरदारी गरिएको छ । नेपाल सरकारले प्रतिविद्यार्थी १५ का दरले उपलब्ध गराउने अनुदान रकमभित्रै खाजा उपलब्ध गराउन नसकिने अवस्थामा अभिाभवकसँग समेत सहकार्य गरी अर्गानिक उत्पादन नै खुवाउने सहभागीले प्रतिबद्धता जनाएका छन् । बेनी नगरपालिकाका १० वडामा ५५ सामुदायिक विद्यालयमा बालविकासमा ५३४ जना बालबालिका छन भने कक्षा १ देखि ५ कक्षासम्म १६ सय ६० विद्यार्थी छन् ।
जंकफुड घट्दो
बेनी नगरपालिकाभित्रका केही विद्यालयले दिवा खाजामा अर्गानिक भन्दा आयातित खाजालाई नै प्रयोग गर्ने गरेको पाइएपनि अधिकांस विद्यालयले जंकफुडको प्रयोग घटेको छ । दिवा खाजा शुरु हुनुअघि अधिकांश विद्यार्थीको खाजा बजारका चाउचाउ बिस्कुटजस्ता जंकफुड हुने गरेकोमा अहिले विद्यालयमै खाजा पाइने भएपछि जंकफुड प्रयोग पनि घटेको छ । नर्स भएको विद्यालयमा खाजाको गुणस्तर जाँच गरिन्छ । जंकफुडको तुलनामा विद्यालयले दिने खाजा पोषणयुक्त हुन्छ । पाँच कक्षासम्मका बालबालिकाको उमेर भनेको शरीरको विभिन्न अंग र प्रणालीहरु विकास हुने समय हो, त्यो बेला पौष्टिक आहारको आवश्यकता रहेकाले नगरपालिकाले स्वास्थ्य र कृषि शाखाबाट समेत रचनात्मक सहयोग लिने गरेको छ । बालबालिकाको आवश्यकताअनुसार शारीरिक वृद्धि हुनका लागि समेत पोषणयुक्त खाजामा जोड दिइएको छ । विद्यालयले खाजाका लागि क्यान्टिनलाई जिम्मा दिएको अवस्थामा पनि नगरपालिकाले पौष्टिक र स्थानीय परिकारलाई प्राथमिकता दिने गरी तालिममा सहभागि बनाएर अनुगमन समेत गर्ने गरेको छ ।
सबै विद्यार्थीलाई एउटै खाजा
दिवा खाजाले विद्यार्थीको स्वाद र खाजाको प्रकारमा एक रुपताले समेत विद्यालयलाई सहज भएको छ । अभिभावकको आर्थिक हैसियत बलियो भएका बालबालिका र विपन्न परिवारका बालबालिकाको खाजामा समानता दिवा खाजाले झल्काएको छ । हुनेले मिठो, नहुने भोकभोकै र सामान्य खाजा लिएर विद्यालयमा आउने गरेको अवस्थामा खाजा कार्यक्रमले खाजामा समानता पनि ल्याएको बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए । सबैलाई एउटै खाजा हुने भएकाले विद्यार्थीमा समेत झगडा नहुने र खाजा मिठो भन्ने प्रतिस्पर्धा समेत तोडिएको प्रअ श्रेष्ठ बताउँछन् । दिवाखाजा सहयोगी पुस्तिकामा स्पष्ट रूपमा खाजा खुवाउने अन्नपातको नामनै किटान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->