बागलुङ/सिटी हल भन्ने बित्तिकै मुख्य बजार क्षेत्रमा रहेको बुझीन्छ । तर बुर्तिवाङ बजारको सिटीहल जंगल छेउमा छ । उक्त सिटीहललाई न सडकले छोएको छ ।
मध्यपहाडी लोकमार्गको नमूना सहरमा सूचिकृत बुर्तिवाङको सिटीहल सडकले नछोएको गाउँमा लगेर बनाइएको हो । बुर्तिवाङ बजार ढोरपाटन नगरपालिकाको वडा नं. १ मा छ भने सिटीहल जिप चढेर २० मीनेटमा पुगिने वडा नं. ३ को भवरेटा गाउँमा लगेर बनाइएको हो । कार्यालय वडा नं. २ को कुतथाप्लामा छ । कार्यालयदेखि सिटीहल पुग्न ३० मीनेट बढी समय गाडीमै लाग्छ ।
निर्माणाधिन सिटीहलका लागि ३५ रोपनी जमिन खरिद गरिएको छ । सडकको पहुँच नभएको स्थानमा सिटीहल बनाएकोमा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले आश्चर्य प्रकट गर्दै सिटीहललाई सडकले जोड्ने काम थाल्न आग्रह गरेका छन् । ‘हल बनाउने काम त केही भएकै रहेछ, तर उपयोगबिहिन हुने संभावना छ’ थापाले भने, ‘बस्ती नभएको जंगलमा बनेको सिटीहलको उपयोगिता हुने देखिएन ।’ नमूना सहर बनाउने आयोजना कार्यालय समेत अस्तव्यस्त भएको उनले बताए ।
आयोजनाले २ करोड खर्चेर बाहिरी भवन बनाइसकेको सभाहलको भित्रि डेकोरेसन र झ्यालढोका राख्न १ करोड २८ लाखमा ठेक्का दिए पनि काम अलपत्र छ । ढोरपाटन निर्माण सेवाले आगामी असार मसान्तमा सक्नुपर्ने काम अलपत्र पारेको छ । लेखा अधिकृत विष्णुप्रसाद पौडेलका अनुसार सभाहलको ४० प्रतिशत वित्तिय र ५२ प्रतिशत भौतिक प्रगती भएको बताए । ‘देशकै नमूना सहर बनाउने योजनाभित्र सूचिकृत छ तर बहुवर्षे ठेक्काको सम्झौता छैन’ पौडेलले भने, ‘सालबसाली खर्च गर्ने बजेट आउँदा कामले गति लिन नसकेको हो ।’ सालबसाली काममा ठेक्का लगाएर काम थाल्ने समयमा आर्थिक वर्ष सकिने अवस्था आएको उनले बताए ।
सानो बजेट, थोरै कर्मचारी लगेर राख्दा कामले गति नलिएको आयोजना प्रमुख रामकृष्ण गिरीले बताए । ‘बुर्तिवाङमा भने भौगोलिक कठिनाइले काम अगाडि बढाउन नसकिएको हो’ गिरीले भने । आयोजनाले निर्माण गरेका कतिपय संरचना भने उपयोगमै नआउने स्थानमा छनौट भएको स्थानीयको टिपणी छ । हाल यहाँ निमित्त प्रमुख, लेखा अधिकृत र प्रशासन हेर्ने खरिदार मात्रै स्थायी छन् । अरु ७ जना करारका प्राविधिक राखेर काम गरिएको हो । बजारदेखि टाढाको भवरेटा भन्ने गाउँमा सभाहल बनाइएकोले राज्यको बजेट मात्रै खेर गएको थापाको टिप्पणी छ ।
बुर्तिवाङलाई नेपाल सरकारले २०७१ सालमै नमूना सहरमा सूचिकृत गरेको थियो । पछिल्लो ८ वर्षदेखि ‘बुर्तिवाङ नमूना सहरी विकास आयोजना’ गठन गरेर कार्यालय समेत स्थापित छ । तर कामले गति लिएको छैन । नमुना सहरमा न्युनतम आधुनिक बसपार्क, सभाहल, फोहोर व्यवस्थापन, एकीकृत सेवा प्रवाह, जग्गा व्यवस्थापन, बजार संरक्षण, खेल मैदान निमाण र हरियाली पार्क बनाउने सूचक समावेश छन् ।





