बागलुङ/कोही बजार झरे, कोही गाउँमै बसेपनि खेतीपाती गर्न छाडेपछि झण्डै २२ वर्षदेखि बागलुङ नगरपालिका ९ को दुर्लेनी जंगलले ढाकीएको थियो । यहाँ खेतीपाती गर्न छाडेपछि ऐसेलुको झाडी र उत्तिसको जंगल बनेको थियो । तर युवाहरुले पछिल्लो समय यो स्थानलाई हराभरा बनाएका छन् ।
हजुरबाले छाडेको २२ वर्षपछि नाती युवाहरु मिलेर दुर्लेनीमा ओखर खेती थालेका छन् । चार वर्षअघि बागलुङ नगरपालिका ९ स्थित मानबहादुर खड्काका नाती देवबहादुर र कृष्णबहादुर सहितले दुर्लेनीमा आवादी गर्ने तयारी थालेका थिए । अहिले भने यहाँ ओखरका २ हजारबढी बिरुवा हुर्कदैछन् ।
सदरमुकाममा बस्दै आएका ७ जना मिलेर जेसिबी लगाई उक्त झाडी फाँडेपछि आवादी शुरु भएको हो । हजुरबुबाका दाजुभाइ मानबहादुर, मनिलाल र हजुरआमा ख कुमारीको नाममा रहेको एक सय रोपनी जमिन उनीहरुले आवादी गर्न योग्य बनाएका छन् । ‘दुर्लेनी सामुदायिक कृषि, जडिवुटी तथा पशुपंक्षि समूह’ मार्फत ओखर खेती थालेका हुन् । उक्त योजना अनुसार पहिलो चरणमा युरोपको टर्कीबाट बिरुवा झिकाइएका थिए । ३ लाख रुपैयाँ खर्चेर उनीहरुले बिरुवा ल्याएका थिए । त्यपछि जंगल फाँड्न मात्रै ७ लाख गरी १० लाख खर्चेको उनीहरुले बताए ।
जिल्लामा संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले नवप्रवद्र्धनात्मक कार्यक्रमअन्र्तगत बनाएको ओखर खेतीका लागि पनि उक्त जमिन उपयुक्त भएको ठह¥याएपछि युवाहरुलाई काममा थप सहयोग मिलेको छ । अहिले यहाँ परियोजनामार्फत २ हजार बिरुवा रोपिएको छ । परियोजनाको ५० प्रतिशत लागत अनुदानमा बिरुवा रोपिएको हो । परियोजनाले १० लाख रुपैयाँ लगानी गर्दा उनीहरुले पनि झण्डै १२ लाख खर्चेका छन् ।
अहिले डोय र दुर्लेनीको खर्कभरी ओखरका बिरुवामा मुना पलाएको छ । समुन्द्री सतहदेखि १ हजार ८ सयदेखि २ हजार मीटर उचाइमा रहेको दुर्लेनीमा ओखरका लागि उपयुक्त हावापानी रहेको परियोजनाका प्रमुख नारायण पौडेलले बताए । ‘कामको मेहेनत र तयारीले यो क्षेत्र नै व्यवसायिक उत्पादनको पकेट बन्न सक्ने देखियो’ पौडेलले भने, ‘ओखर पकेट क्षेत्रमा सूचिकृत गर्दैछौं ।’ उक्त कार्यक्रम लागू भएमा एक हजार रोपनी सम्ममा ओखर खेती गर्न सकिने उनले बताए । खड्का युवाहरुले मात्रै २ सय रोपनीमा ४ हजार बढी बिरुवा रोप्ने योजना बनाएका छन् ।
परियोजनाले कश्मिरी लोकल र थिन्सेल जातको बिरुवा सिफारिस गरेपछि बैतडीबाट बेर्ना झिकाइएको हो । टर्कीबाट ल्याइएका च्यान्लर र फ्रिक्वाइन्ट जातको ओखरका ४ सय १० बिरुवा ल्याउँदा प्रतिबिरुवा ७ सय रुपैयाँ खर्चेका खड्का परिवारले परियोजनाको सहयोगमा बैतडीबाट ल्याएको बिरुवामा कम खर्च भयो । उनीहरुले प्रतिबिरुवा ५ सयमात्रै लगानी गरिएको बताए ।
परियोजनाले पनि ओखर खेतीबाट किसानले मनग्ये कमाइ गर्न सक्ने भएकोले प्रवद्र्धन गरेको हो । बजारमा ओखरको अत्याधिक माग भएपनि भारतबाट ल्याउनुपरेकोले आयात प्रतिस्थापनमा यो कार्यक्रमले सहयोग पुग्ने उनले बताए । उनीहरुको मेहेनत देखेर स्थानीय हर्कबहादुर खत्रीले पनि यो वर्ष २ सय ५० ओखर रोपेका छन् ।





