शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

लोकप्रिय छ, नारच्याङकी चित्रमायाँको ‘पानी घट्ट’

लोकप्रिय छ, नारच्याङकी चित्रमायाँको ‘पानी घट्ट’


  • हरिकृष्ण गौतम
  • असार २७ २०८१, बुधबार

म्याग्दी /म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ बेँसी गाउँकी चित्रमायाँ पुर्जालाई पानीघट्टमा भ्याइनभ्याई हुन्छ । गाउँभरी ठूला विद्युत आयोजना रहेको नारच्याङमा आधुनिक मिलभन्दा स्थानीयले चित्रमायाँको पानीघट्टनै रोज्ने गरेका छन् । पानी घट्ट चलाउँदै आइरहेकी चित्रमायाँलाई विहानदेखि बेलुकीसम्म घट्ट चलाएर फुर्सद नै हुदैन ।

स्थानीयले उत्पादन गरेका अन्नबालीलाई पिस्न अझै परम्परागत पानी घट्ट नै रोज्ने गरेको चित्रमायाँको भनाई छ । ‘दिनभर अन्न पिस्ने गर्छु, छिमेकी गाउँबाट पनि घट्टबाटनै पिस्ने भन्दै पठाउँछन्’ उनले भनिन् । उनले नारच्याङ झरनाको पानी उपयोग गरी सञ्चालन गरेको मिलका लागि कुलो र अन्य संरचना बनाउन करिब १ लाख खर्च भएको बताइन् ।

उनले दैनिक १५ जना कुटानीका लागि आउने गरेको बताइन् । ‘घट्टमा पिसेको पिठो आधुनिक मिलमा पिँधेको भन्दा स्वादिष्ट हुन्छ’ चित्रमायाँले भनिन् । मकै, गहु, कोदो लगायतका अन्न घट्टमा नै पिस्नेबाट प्रतिपाथी १ माना र नगद २० रुपैयाँ लिने गरेको बताइन् । पानी घट्ट प्रमुख आयस्रोत भएकाले घरखर्च चलेको छ । बेँशी गाउँदेखि नारच्याङ झरनाको भ्यू–पोइन्टमा प्रवेशद्धारमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकले समेत अवलोकन गर्ने गरेका छन् । नारच्याङसँगै दानामा समेत पानीघट्ट सञ्चालमा रहेको छ । बिजुलीको सुविधासँंगै जिल्लाभित्रका सबैजसो पानीघट्ट विस्थापित भएपनि नारच्याङ र दानामा पानीघट्ट निरन्तर सञ्चालित छ । ग्रामीण बस्तीको अर्को महत्वपूर्ण साधन भनेको ओखल पनि हो । पिसानीका लागि पानी घट्ट र जाँतो जस्तै कुटानीको माध्यम ओखल हो । अहिले पुरानो पानी घट्ट, जाँतो र ओखलको अस्तित्व हराउँदै गएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->