बागलुङ/नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डामा १६ नम्बरको सैन्य आधार तालिमको समापन गरिएको छ । गत वर्ष साउन १ गते भर्ना भएका सैनिकहरुको एक वर्षे तालिम सम्पन्न भएको हो ।
तालिमको अन्तिम दलेल कवाज बुधबार सम्पन्न भएको छ । बाहिनीपति सहायक रथी जगतबहदुर पौडेलले तालिम सकेर काममा जान लागेका सैनिकहरुलाई बिदाइ गरे । उनले वैदेशिक रोजगारीका कारण विदेश जानेहरु बढेको बेला नेपालमै बसेर राष्ट्रको सेवा गर्न खोज्ने युवालाई सम्मान गर्नुपर्ने बताए । उनले अभिभावकले पनि देशमै बसेर केही गर्न सकिन्छ भन्दै आफ्ना छोराछोरीलाई दिएको शिक्षा महान् भएको समेत बताए ।
कार्यक्रममा पौडेलले सैनिक जवानहरुको अन्तिम दलेल कवाज निरीक्षण गर्नुको साथै सर्वोकृष्ठ हुने सैनिकलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । विभिन्न विधामा प्रथम हुनेलाई पुरस्कृत गरिएको कार्यक्रममा सर्वोकृष्ठ भएका प्रितम गुरुङलाई पौडेलले पुरस्कारको साथै खुकुरी प्रदान गरेका थिए । लमजुङको क्व्होलासोथार गाउपालिका ४ का गुरुङले सबै विधामा उत्कृष्ठ नतिजा दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ लगायत सहभािग थिए । सेनामा पछिल्लो समय आर्कषण घटेको छ । वैदेशिक रोजगारीले घटेको आर्कषणलाई बढाउन सबै अभिभावकले देशप्रति माया र चासो राख्नुपर्ने सरोकारवालाले बताए ।





