म्याग्दी/म्याग्दीका स्वास्थ्य संस्थामा प्रयोग गरिने खानेपानीमा दिसामा हुने जीवाणु ‘इ.कोली’को मात्रा उच्च रहेको पाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका ५ वटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा संकलन गरेको पानी परीक्षण गर्दा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईको धाराको पानीमा इ.कोली र कोलीफर्म रहेको हो । स्वास्थ्य कार्यालयले जिल्लाका ५८ स्थानमा संकलन गरेको नमुनामध्ये १४ प्रतिशतमा दिसामा पाइने जिवाणु भेटिएको जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले बताए ।
‘स्वास्थ्यचौकीमै प्रयोग हुने पिउने पानीमा जीवाणु भेटिएको छ, सम्बन्धित स्थानीय तहलाई नमुना परीक्षणसहित जानकारी गराइसकिएको छ’ जनस्वास्थ्य निरिक्षक आचार्यले भने । जिल्लाको बिम, रूम, मुदी, प्राथमिक स्वास्थ्य केन्द्र गलेश्वरमा ‘इ.कोली’को मात्रा धेरै भेटिएको छ । गलेश्वरको प्राथमिक स्वास्थ्य केन्द्रको खानेपानी बृद्धआश्रममा बस्ने बृद्धबृद्धाले समेत प्रयोग गर्ने गरेका छन् ।
सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म संकलित नमूना बेनी अस्पतालको प्रयोगशालामापरीक्षण गरिएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले १४ प्रतिशतमा ‘इ.कोली’ ३३ प्रतिशतमा अन्य जीवाणु भेटिएको छ भने ५३ प्रतिशत खानेपानी पिउन योग्य रहेको बताए । बेनी नगरपालिकामा १६ वटा नमूनामध्ये ९ वटामा इ.कोली भेटिएको छ । मालिका गाउँपालिकामा ८ वटामध्ये ७ वटामा इकोली, धवलागिरी गाउँपालिकामा ३ वटै नमुनामा इ.कोली र अन्नपूर्णमा १८ नमुनामा ३ वटामा इ.कोली जीवाणु भेटिएको छ ।
जीवाणु भेटिएको खानेपानीको मुहानबाट विद्यालय, समुदायस्तरमा समेत पानी वितरण भइरहेको अवस्थामा बृद्धबृद्धा र बालबालिका झनै प्रभावित रहेको छ । स्वास्थ्यचौकी बाहेक समुदायले प्रयोग गर्ने खानेपानीको मुहान, धारामा समेत जीवाणु भेटिएको छ । ‘यो नतिजाले नागरिकले दूषित पानी पिउने गरेको,यसले नागरिकको स्वास्थ्यमा असर गरिरहेको छ’ प्रमुख ठकुराठीले भने ।
झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने उनले बताए । खानेपानी गुणस्तरसम्बन्धी सरोकारवाला निकाय र स्थानीय तहमार्फत सुधार सहितका अभियान सञ्चालनका लागि समेत सुझाव दिइएको बताए । ‘इ. कोलीको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमण हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।





