बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

केन्द्रिय विद्युत पर्खिरहेको पश्चिम बागलुङ

केन्द्रिय विद्युत पर्खिरहेको पश्चिम बागलुङ


  • ढोरपाटन संवाददाता
  • असार २८ २०८१, बिहिबार

बागलुङ/पश्चिम बागलुङमा अझैपनि राष्ट्रिय प्रसारणको बिजुली पुगेको छैन । बिजुली अभावमा उद्योग व्वबसाय गर्न कठिन छ । पश्चिम बागलुङको बुर्तिवाङमा रहेका होटलले पनि विद्युत अभावको समस्या झेलीरहेका छन् ।
काठेखोलामा बनेको साना जलविद्युत आयोजनाबाट २०३३ सालमा सदरमुकाम बागलुङ बजारमा बिजुली बलेपनि ढोरपाटन, निसी र तमान तथा बडिगाडमा समेत अझै प्रसारण लाइन विस्तार नभएको हो । बाटो पर्ने स्थानमा कतै बलेपनि समग्रतामा गाउँलेले बिजुली सपना बुनेर बसेका छन् ।
कतै बिजुली बाल्ने तरखर गर्दैछन् भने कतै अन्यौल छ । बिजुली नभएकै कारण ग्रामीण बस्तीमा जनजीवन कष्टकर छ । तमानखोला गाउँपालिका वडा नं. ४ को लामेलामा बनेको कृषि फसलको ‘कोल्ड स्टोर’ विद्युत अभावमा अलपत्र परेको छ । लघुविद्युतबाट बिजुली बालिएपनि कोल्डस्टोर संचालनका लागि उक्त विद्युत नपुग्ने भएपछि राष्ट्रिय प्रशारण लाइनको प्रतिक्षा गरिएको छ ।
गत आर्थिक वर्ष प्रदेशको ५० लाख, संघको समपुरक बजेटमा ४५ लाख र गाउँपालिकाको १५ लाख गरी १ करोड ५ लाख खर्च गरेर बनाइएको भवन विद्युत नपुग्दासम्म उपयोगबिहिन भएको हो । ‘विद्यालयका सूचना केन्द्रका लागि लघुविद्युतको भर परेका छौं, कहिलेकाहीं त बिग्रेर हैरान परिन्छ’ स्थानीय धनगौज्योती माबिका शिक्षक बसन्त घर्तीमगरले भने, ‘केन्द्र्रीय विद्युत नआएसम्म ठूलो क्षमताको उपयोग गर्नै सकिंदैन ।’ गाउँपालिकाको पहलमा केन्द्रीय विद्युतीकरण अभियान चलेपनि अझै एकडेढ वर्ष कुर्नुपर्ने स्थानीयले अनुमान गरे ।
यो सास्ती पश्चिम बागलुङका धेरै स्थानमा छ । निसीखोला गाउँपालिका २ अर्नाकोटको बस्तीमा विद्युत अभावमा पानी तान्न नपाएपछि स्थानीयले सास्ती खेपेको वर्षौ भयो । कहिले बिजुली पुग्ला र खोल्साको पानी तानेर बस्तीमा लैजान सकिएला भनेर वर्षैपिच्छे योजना बनाइरहेको वडा अध्यक्ष कुविर विकले बताए । यहाँका बासिन्दाले दैनिक दुइतीन घण्टा हिडेर मात्रै एकगाग्री पानी खेप्छन् ।
टेलिफोन टावरमा विद्युत अभाव हुँदा पटक पटक टेलिफोन अबरुद्ध भैरहन्छ । ‘टावरमा विद्युत अभाव हुँदा हरेक दिन फोन काटिएको गुनासो आएपछि हामीले जेनेरेटर लगेर राखेका छौं’ नेपाल टेलिकम बागलुङका प्रमुख ईन्जिनियर सन्तोष बरालले भने, ‘केही समस्या समाधान त भएको छ, दिगो भएको छैन ।’
विद्युत अभावमा टावर संचालन नहुँदा निसीखोला ५ को निसेलढोरमा त अझै फोन नटिप्ने समस्या छ । बुकी जाने पर्यटकले फोन नहुँदा सूचना दिन नपाएको गुनासो गर्छन् । बजार बुर्तिवाङमा समेत पूर्ण बिद्युतीकरण भएको छैन । तीन वर्षअघि विद्यु्त लाइन पुगेपनि ढोरपाटन १ र २ मा मात्रै बिस्तार भएको छ । असार मसान्तसम्म वडा नं ५ मा विद्युतीकरण गर्ने गरी काम भैरहेको स्थानीय बिमला महतले बताइन् ।
बडिगाड गाउँपालिका ८ को रणसिंकिटेनीमा विद्युत अभावले स्वास्थ्य संस्थामा समेत समस्या परेको अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । विद्युत अभावमा वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा समेत समस्या पर्ने गरेको उनले बताइन् । ३३ करोड लागतमा निर्माण भैरहेको सबस्टेशन असार मसान्तमा सक्ने लक्ष्य भएपनि सामान आयातमा ढीला हुँदा नसकिने अवस्था आएको इन्जिनियर प्रकाश यादवले बताए । रिनाममा १३२ केभी प्रसारण लाइन जोडेपछि आसपासमा विद्युतीकरण हुने छ । हाल गलकोट नगरपालिका ५ को हरिचौरमा रहेको ११ केभी प्रशारण लाइनबाट लगिएको बिजुलीले बुर्तिवाङमा पावर नपुगेपछि बिस्तार हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->