बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विपतले निम्तेको जोखिम र उद्दारका प्रयास

विपतले निम्तेको जोखिम र उद्दारका प्रयास

अधिकांश स्थानमा पहिरो खस्ने, लोकमार्ग अबरुद्ध हुने र कालोपत्रे बिग्रने अपजस ग्रामीण सडककै कारण खेप्नुपरेको छ ।


  • ढोरपाटन संवाददाता
  • असार २९ २०८१, शुक्रबार

पहिरोले जोखिममा परेको बानपा–१० भकूण्डेस्थित स्वास्थ्य चौकीको भवन । तस्बिर : जिप्रका/बागलुङ

बागलुङ/केही दिनदेखि परेको झरी र बुधवार साँझदेखिको अविरल वर्षाले बागलुङ बजार आसपासमा धनजनको क्षति भएको छ ।
पहिरोले घर बगाउँदा बागलुङ नगरपालिका वडा नंं. ७ मा एक महिलाको मृत्यु भएको छ । घर माथिबाट पहिरो आएको पहिरोले पुरेर बिहीबार राति १ बजे स्थानीय ५५ वर्षीया खिलाकुमारी शर्माको मृत्यु भएको हो ।
एक्लै बस्ने शर्मा सुतेकै स्थानमा पुरिएकी थिइन् । बिहानमात्रै छिमेकीले थाहा पाएपछि घटनास्थलबाट उनको शव निकालिएको वडाध्यक्ष मेघनाथ गैरेले बताए । निरन्तर वर्षात् र सडकमा अवरोध भएकोले प्रहरीसमेत समयमा घटनास्थलमा पुग्न नसकेको प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए । प्रहरी निरीक्षक सुनिल शर्माको नेतृत्वमा गएको खोजीउद्दार टोलीले बिहान ८ बजेमात्र शव निकालेको हो । पहिरोले बागलुङदेखि पञ्चकोट, तितौरे जाने सडक, मध्यपहाडी लोकमार्गको बोक्सेलगायतका स्थानमा पनि पहिरो खसेर आवागमनमा असर परेको थियो । दिउँसो ती पहिरोहरु पन्छाइएको छ । पहिरोकै कारण लोकमार्गको ठाउँ ठाउँमा जोखिम भएको छ ।
अत्याधिक वर्षा भएकोले सडकको नालीले थेग्न नसकेपछि बजारका बिभिन्न चोकमा घरभित्रै बाढी पसेको थियो । बाढीले खाद्यान्न, लत्ता कपडा र अन्य सामग्रीमा पनि क्षति पुगेको बताइएको छ । सिमेन्टका गोदाममा पसेको बाढीले लाखौंको सामान क्षति पुगेको छ । ‘पानी अत्याधिक आएपछि बजारका कुनै पनि नालीले थेग्न सकेनन्, त्यसैले घरघरमा लेदो पसेको छ,’ बानपा २ का निलेशराज भण्डारीले भने, ‘बाढी पस्नेमात्र हैन, आफ्नै घरको पानीसमेत आहाल बन्ने गरी परेको थियो ।
त्यस्तै, बागलुङ नगरपालिका ८ सिगानाको ओखलढुंगा र तित्याङ जोड्ने फलामे पुल बाढीले बगाएको छ । पुल बगेपछि स्थानीयलाई आवतजावतमा असर परेको छ । २०७७ सालमा उक्त पुल बनेको थियो । बानपा १३ को काभ्रेडाँडामा पहिरोले स्थानीयको खेत पुरेको छ । पहिरोले एउटा सत्तल समेत बगेको छ ।
बानपा १० को भकुण्डे स्वास्थ्य चौकीमाथि पहिरो खस्दा जोखिम भएको छ । घरमै आएर पहिरोको लेदो थुप्रेको हो । बाढी आइरहेको अबस्थामा खोला तर्न खोज्दा काठेखोलाको दोबिल्लामा अटो रिक्सा बगाएको छ । यहाँ मानिस भने हाम्फालेर बाँच्न सफल भएको प्रहरीले बतायो ।
जैमिनीमा पनि पहिरोले व्यापक क्षति गरेको छ । नगर उपप्रमुख हरिहर शर्माका अनुसार आधा दर्जन विद्यालयको संरचनामा क्षति भएको छ । विद्यालय बन्द भएकोले क्षति कम देखिएको उनले बताए । त्यस्तै दर्जनौं घरमा पहिरोले क्षति पुगेको छ । ग्रामीण सडकहरु बगेका छन् । जैमिनी नगरपालिकाको मुकाम कुश्मीसेरादेखि बरेङ जोड्ने सडक ठप्प छ । शुक्रबार सम्ममा सडक खुलाउने प्रयास भइरहेको शर्माले जानकारी दिए ।
त्यसबाहेक कालीगण्डकी करिडोरको दर्जनौं पहिरोले यातयात ठप्प हुँदा स्थानीयले सास्ती खेपेका छन् । ‘करिडोर नियमित संचालन भएमा धेरैले राहत पाउने अबस्था छ’ शर्माले भने, ‘ठूला पहिरोले पैलद यात्रीलाई पनि जोखिम बनाइदिएको छ ।’ सकेसम्मका प्रयासले बाटो खोल्न लागे पनि कतिपय प्रयास निरर्थक भएको उनले बताए । जैमिनी नगरपालिका ५ को लामाबगरमा खस्ने पहिरोले बढी सास्ती दिएको छ । यो सडक नियमित खुल्न नसक्दा जैमिनी नगरपालिका ५, ६, ७ र ८ वडाबासी बढी प्रभावित छन् ।
गलकोट नगरपालिका वडा नंं १ को झाँक्रीस्थानमा खसेको पहिरोले सडक जोखिम बनेको छ । वडा नंं ११ को रिघाफेदीमा निरन्तर पहिरो खस्दा मध्यपहाडी लोकमार्गमा यात्रा पनि जोखिम भएको हो । रातमा पनि गाडी गुड्ने स्थानमा सडकहरु अबरुद्ध हुँदा बिरामी र अत्यावश्यक काम परेर हिँड्नेले सास्ती खेपेका ह्ुन् । बागलुङ नगरभित्रकै बोक्से, काठेखोलाको अक्षेते, दोबिल्ला, बिहुँ लगायतका स्थानमा खस्ने पहिरोले पनि उत्तिकै दुःख दिएको हो ।
बुर्तिवाङदेखि ढोरपाटन जाने सडक पनि दैनिक अबरुद्ध छ । बडिगाडका ग्रामीण सडकमा पनि यात्रीले सास्ती खेपेका छन् । मुल सडक छेवैमा अनुमति बिना खनिएका सडकहरुले मुल सडकमा असर परेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर उज्वल शर्माले बताए । ‘लोकमार्गमा जोडेर जथाभावी सडक खनिएका छन्, ती सडकको नाली समेत छैन, बाढी आएर कालोपत्रे सडक बिग्रेको छ ।’ शर्माले भने, ‘अधिकांश स्थानमा पहिरो खस्ने, लोकमार्ग अबरुद्ध हुने र कालोपत्रे बिग्रने अपजस ग्रामीण सडककै कारण खेप्नुपरेको छ ।’ कतिपय स्थानमा त समयमै हेरेर बाढी तर्काएपनि सबै स्थानमा देख्न र थाहा पाउन नसक्दा सडकमा ठूला अबरोध आएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले दैनिक रुपमा जिल्लाभरको दैविप्रकोपका घटनालाई सूचनामार्फत् प्रवाह गर्न सामाजिक संजालहरु उपयोगमा ल्याएका छन् । प्रहरी प्रमुख ऋषिराम कंडेलले त सबै मातहत इकाइ र प्रहरी चौकी इन्चार्जलाइ तत्काल सूचना प्रवाहमा भरपर्दो बनाउन विभिन्न एप्स समेत प्रयोगमा ल्याएका छन् । उनले हरेक प्रहरीले के काम गरिरहेको छ कता डिउटी गरेको छ र दैविप्रकोपका घटनामा पुगेको भए फोटो र भिडियोसमेत खिचेर अपलोड गर्ने प्रबन्ध समेत गराएका छन् । त्यसले जोखिम न्युनिकरणमा योगदान पुग्ने, जिल्ला प्रहरी कार्यालयबाटै कतिपय कामको मूल्यांकन गर्ने व्यवस्थापन पनि भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->