पोखरा/ कास्कीका विभिन्न स्थानमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका ६ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लाकोट ठाँटी, पोखरा–३२ चैनपुर र मादी गाउँपालिका–११ तल्लो ताप्लेमा भएका घटनामा उनीहरुले ज्यान गुमाएको प्रहरीलेजनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार राति १० बजेर २० मिनेटको समयमा पोखरा–१९ तल्लाकोट ठाँटीका कुलबहादुर परियारको टिनले छाएको ढुङ्गा माटोले बनेको १ तले घरमा अबिरल वर्षाकाकारण घर पछाडीबाट पहिरो आई पुरिदा कुलबहादुरका परिवारका ६ सहित ७ जनाको मृत्यु भएको छ ।
मृतकमा ४६ वर्षीय कुलबहादुर परियार, उनकी ४३ वर्षकी श्रीमती मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षीमा परियार, १५ वर्षीया छोरी प्रशना परियार, जिल्ला चितवन घर भएकी कुलबहादुरको अर्को छोरी २० वर्षीया प्रभा परियार (माईति आएको) र ज्वाई २५ वर्षका अस्मित परियार (ससुराली आएका) छन । यसैगरी सोही ठाउँकी ५६ वर्षीया राधिका परियारको पनि घटनास्थलमा उद्धार गर्ने क्रममा लडेर मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माले बताए । उक्त पहिरोमा परेर स्थानीय ३१ वर्षीय कुमार परियार (छिमेकी मृतक राधिका परियारका छोरा) र मृतक कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार घाइते भएकोमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतलामा उपचार पछि शुक्रबार बिहान डिस्चार्ज भएको प्रहरीले जनाएको छ । पहिरोको घटनाबारे थाहा पाउनसाथ प्रहरी चौकी सार्दीखोला, जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बल, नेपाली सेना समेतको उद्दार टोली खटिएको र खोज तथा उद्दारका क्रममा उनीहरुलाई घटनास्थलमै मृत अवस्थामा र घाईते अवस्थामा उद्दार गरिएको थियो ।
यसैगरी शुक्रबार बिहान सवा २ बजेको समयमा पोखरा–३२ चैनपुर, बाह्रबिसेकी ४० वर्षीय आरती ओझाको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची घर पछाडिबाट आएको पहिरोले पुरिदा ओझाकी १८ वर्षकी छोरी अनीता र ११ वर्षीया छोरी अनुष्काको मृत्यु भएको छ । ओझाको दाईको छोरा ९ वर्षीय प्रतिक सुवेदीको पनि सोही पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । आरतीलाई घाइते अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पहिरोले घर पुरिएको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिसुवाबाट प्रहरी टोली खटिई गइ खोज तथा उद्दार गरेको शर्माले बताए ।
त्यस्तै शुक्रबार बिहान १ बजेको समयमा कास्कीको मादी गाउँपालिका–११ तल्लो थाप्लेकी ८० वर्षीया माईतीकुमारी गुरुङको ढुङ्गा माटोले बनेको जस्ताले छाएको १ तले कच्ची घर माथीबाट पहिरो आई पुरिँदा माइतीकुमारीको मृत्यु भएको छ । पहिरोमा पुरिएकी माइतीकुमारीको खोजतलासका क्रममा विहान ७ बजे शव भेटिएको प्रहरीले जनाएको छ । उनका ५५ वर्षीय छोरा ओमबहादुर गुरुङलाई प्रहरी र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको थियो ।





