पोखरा/ नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोगमा पोखराको सराङकोटस्थित बालसुधार गृहमा निशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै संघले उक्त सुधार गृहमा रहेका बालकहरुको नियमित स्वास्थ्य जाँचलाई निरन्तता दिने उद्देश्यले कार्यक्रम गरेको हो । नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुवँरको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर पोखराका छाला रोग विशेषज्ञ डा.अजय कुमार, प्राविधिक प्रहरी निरीक्षक डा. शिशिर कोइराला र क्षेत्रीय क्षयरोग उपचार केन्द्र पोखराका डा.शिशिर पौडेल समेतको चिकित्सक टोलीले सुधार गृहमा रहेका १०० जना बालकहरुको स्वास्थ्य जाँच गरी निस्शुल्क औषधी वितरण गर्नुको साथै स्वास्थ्य परामर्श समेत प्रदान गरेका थिए ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि कुवँरले सुधार गृहमा रहेका बालकहरुलाई विगतमा गरेका गल्तीहरुलाई बिर्सिएर यस सुधार गृहलाई आफ्नो जिबनको सिकाईको पाठशालाको रुपमा लिन आग्रह गर्दे उज्जवल भविष्यको कामना गर्नु भई फलफूल हस्तान्तरण गरेकी थिइन । सोहि अवसरमा बोल्दै विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले बाल सुधार गृह सुधार गृह मात्र नभईकन एक विद्यालयको रुपमा रहेको बताउँदै सम्पूर्ण बालकहरुलाई सकरात्मक सोचको बिकास गरी भविष्यमा देशका लागि चाहिने जनशक्तिको रुपमा आफूलाई तयार गर्नुपर्ने बताँउदै नेपाल प्रहरी श्रीमती संघले गरेका यस्ता कार्यक्रमहरुले प्रहरी संगठनको सिर उच्च राखेकोमा संघ प्रति आभार प्रकट गरेकी थिइन । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी उपाध्यक्ष अप्सरा खत्रीले स्वागत मन्तव्य राखेकी थिइन भने सचिव रविना अर्यालले कार्यक्रम संचालन गरेकी थिइन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्मा, वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक बोधराज रेग्मी, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखरा पदाधिकारीहरु, उक्त बाल सुधार गृहका वार्डेन अजय थापा, मनोविमर्शकर्ता ज्योती शर्मा लगायतको उपस्थिती रहेको थियो ।





