बागलुङ/‘समान्य वर्षा हुँदासमेत आजभोली भूक्षय हुन्छ । वर्षापछि पानीमा मिश्रित ढुंगा माटोले स–साना खहरेदेखि ठुला खोला तथा नदीहरुको तागत बढाउँछ । त्यहीं बाढी र पहिरोको शिकार बनिरहे छन् हाम्रा विकासे संरचना । तर, भूक्षय रोक्न, भूक्षयको कारण पहिचान गर्न र जमिन तथा जल सम्पदा जोगाउन हाम्रा नीति र कार्यक्रमहरु निकै कम बन्ने गरेका छन्, बजेट नगन्य छ ।’
जिल्ला समन्वय समिति बागलुङमा शुक्रबार जम्मा भएका सरोकारवालाले भू तथा जलाधार क्षेत्रमा भैरहेको क्षयीकरण र त्यसले मानव जीवनमा पारिरहेको असरबारे चिन्ता व्यक्त गरे । विकासका नाममा जमिन भत्काउने तर भू–क्षय जोगाउने गरी प्रयास नै नगर्दा बस्ती बस्तीमा समस्याहरु देखा पर्ने गरेको उनीहरुको भनाई थियो ।
‘समय यस्तो आयो गतवर्ष बाढीबाट जमिन जोगाउन लगाएको तटबन्ध फरफारक भै नसक्दै यो वर्षको बाढीले लग्यो’ बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले भनिन् ‘भू तथा जलाधार क्षेत्रमा बजेट नै कमी आउने, स्थानीय तहले पहिचान गरेका योजनामा संघ र प्रदेशले बेवास्ता गर्ने, पहुँचको आधारमा बजेट वितरणले पीडितले न्याय नपाउने भैरहेको छ ।’ उनले भू तथा जलाधार संरक्षणलाई प्राथमितामा राख्नुपर्ने बताईन् ।
गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दिपेन्द्र थापाले जल र जमिन जोगाउनु सबैको कर्तव्य भएको बताए । मानव जिवनका लागि अत्यावश्यक प्राकृतिक स्रोतको सदुपयोग गर्ने तर दुरुपयोग गर्न नहुनेमा उनले जोड दिए ।
परम्परागत पानीको बाटो माँसिनु, भू–क्षय रोक्न वृक्षारोपणमा ध्यान नपुग्नु, बिनाजाँच भत्काउँदा भू–क्षयका समस्या दिनदिनै बढ्दै गएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले बताए । उनले सरकारी सम्पत्ति र जमिनको संरक्षण सबै नागरिकको दायित्व हुनेमा जोड दिए । वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले भू तथा जलाधार संरक्षणमा राज्यको कम ध्यान जाने गरेको बताए । अहिले भू तथा जलाधार संरक्षणको विषय पछिल्लो समय प्राथमिकतामा राख्नुपर्ने विषय बनेको उनको धारणा थियो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय कुश्मा पर्वतको वार्षिक समिक्षा गोष्ठीमा सहभगि सबैले जल, जमिन र जंगलको संरक्षणमा जोड दिएका थिए । जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ शर्माको अध्यक्षता, कार्यालयका भू संरक्षण अधिकृत सुमन भट्टराईको स्वागत र दुर्गा प्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
भू तथा जलाधार संरक्षणका ४७ योजना सम्पन्न
भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङमा संरक्षण तथा प्रबद्र्धन क्षेत्रका ४७ योजना सम्पन्न गरेको छ । पहिरो नियन्त्रण, कटान क्षेत्रको नियन्त्रण, पोखरी संरक्षण लगायतका भू तथा जलाधार क्षेत्रको संरक्षणसँग जोडिएका ४७ योजनामा काम भएको हो ।
कार्यालयले पानीका मुहान संरक्षणका १४, पोखरी निर्माण तथा मर्मतका १३ र पहिरो तथा नदी कटानका बाँकी योजनासहित ४७ योजनामा काम गरेको हो । शुक्रबार कार्यालयको प्रगति विवरण प्रस्तुत गर्दै कार्यालय प्रमुख दिवाकर पौडेलले थोरै बजेट र धेरै कार्यक्षेका बाबजुद बागलुङमा सतप्रतिशत योजनाको काम सकेको बताए ।
कार्यालयले आगामी आर्थिक वर्षमा जिल्लाका दशवटै स्थानीय तहमा विभिन्न योजना सञ्चालन गर्ने जनाएको छ । जैमिनी नगरपालिकामा १५ लाखका तीन, बागलुङ नगरपालिकामा ७५ लाखका १६ योजना, काठेखोला गाउँपालिकामा ४७ लाखका १० र गलकोट नगरपालिकामा १५ लाखका तीन योजना विनियोजन भएको पौडेलले बताए ।
त्यस्तै, ताराखोला गाउँपालिकामा ४ लाख रुपैयाँको एउटा मात्रै योजना छभने तमानखोलामा ८ लाखका २, बरेङमा १० लाखका २, निसीखोलामा ११ लाखका ३, ढोरपाटनमा १६ लाखका ४ र बडिगाडमा १० लाखका दुई योजना विनियोजन भएको उनले बताए । चालु आर्थिक वर्षमा कार्यालयले ९५ प्रतिशत भौतिक र ८९ प्रतिशत वित्तिय प्रगति गरेको छ ।





