शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीबाट बग्छ वर्षेनी २५ लाख टन माटो

म्याग्दीबाट बग्छ वर्षेनी २५ लाख टन माटो


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०८१, आइतबार

म्याग्दी/वर्षेनी २५ लाख टन भोगौलिक रुपमा कमजोर रहेको म्याग्दी जिल्लामा भू–क्षय, बाढी, पहिरो तथा नदिकटानले गर्दा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । भिरालो जमिन, कमजोर भू–बनोट, भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, ग्रामीण सडक विस्तार, परापूर्वकालदेखि वग्दै आएको खोल्साखोल्सीको वहावमा परिवर्तन हुनुजस्ता समस्याहरुका कारण जिल्लाका अधिकांश बस्तीहरु बाढी तथा पहिरोको उच्च जोखिममा रहेको छ । म्याग्दी जिल्लाको ६१ प्रतिशत भू–भाग ६० डिग्रीभन्दा बढी, ३६ प्रतिशत भू–भाग १–६० डिग्री भिरालोपना रहेको छ भने केवल ३ प्रतिशत भू–भाग मात्र समथर रहेको छ ।
क्षेत्रफलको हिसाबले २ हजार २ सय ९७ दशमलव ६ वर्ग किमी ओगटेको जिल्लामा छोटो समयमा हुने अधिक मनसुनी वर्षा, भूकम्पीय कम्पन्न तथा भौगर्भिक हलचलका साथै जमिनहरु प्राकृतकि रुपमा खिइँदै जानु,भिरालो पाखाहरुमा रहेका ठूला रुख प्रजातिका वनले गर्दा पानी पर्दा भूमिगत पानीका कारण भिरालो जमिनहरु भासिनु जमिनमा धाँजाहरु पर्नु र अन्त्यमा पहिरो जाने गरेको वरिष्ठ भू तथा जलाधार संरक्षण अधिकृत एवम् भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेलले बताए ।
‘म्याग्दीमा विकासले विनाश निम्त्याएको छ,हरेक वर्ष नयाँ पहिरो थपिँदै गएको छ, अब वातावरणमैत्री कार्यलाई प्राथमिकता नदिए भविष्यमा ठूलो क्षतिको समाना गर्नुपर्ने अवस्था आउन सक्छ,’ प्रमुख पौडेलले भने ।
उनका अनुसार म्याग्दीमा नदी प्रणालीको रुपमा हेर्दा म्याग्दीखोला, कालीगण्डकीखोला र रघुगंगा गरी मुख्यतया ३ वटा जलाधार क्षेत्र रहेका छन् । जसले जिल्लाको क्रमशः ५५ प्रतिशत, ३० प्रतिशत र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेको अवस्थामा बर्षेनी २५ लाख १५ हजार ७ सय ६० दशमलव २० टन माटो भू–क्षयको रुपमा वगेर गएको बताए । भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको कार्यक्षेत्र रहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट ८ लाख ५५ हजार १ सय ७३ टन, रघुगंगा गापाबाट ३ लाख ५० हजार ४ सय ६८ दशमलव १० टन, वेनी न.पा.बाट ३१ हजार १ सय ३७ टन, मंगला गापाबाट ३३ हजार ४ सय ६६ टन, मालिका गापाबाट १ लाख ३ हजार २ सय ३० टन, धवलागिरी गापाबाट ८ लाख ९६ हजार ४ सय दशमलव १० टन र ढोरपाटन शिकार आरक्षबाट २ लाख ४५ हजार ८ सय ८६ टन प्रतिवर्ष माटो विभिन्न खोलानाला हँुदै बगिरहेका छन् । ४२० वर्ग किमीदेखि १७३ वर्ग किमीको बीचमा रही ७ वटा उप–जलाधार क्षेत्रमा विभाजन गरी प्राथमिकता निर्धारण गरिएको छ ।
जसअनुसार ढोरखोला (ढोरपाटन शिकार आरक्ष र धवलागिरी गापाको केही भाग), म्याग्दीखोला–१ (धवगागिरी गापा), म्याग्दीखोला–२ (धगापा. र रघुगंगा गापा),राहुघाट खोला (रघुगंगा गापा), म्याग्दीखोला–३ (वेनी नपा, मंगला गापा, मालिका गापा),कालीगण्डकी नदी (अन्नपुर्णा गापा) र मिरिस्ती खोला (अन्नपूर्ण गापा) रहेका छन् । म्याग्दीमा दशक अगाडीका ठूला पहिरो नियन्त्रणका लागि न्यून बजेट सम्भव नभएकाले दीर्घकालीन योजना बनाउन पटकपटक माग गरिए पनि सुनुवाइ भएको छैन । प्राकृतिकजन्य विपत्तका लागि न्यून बजेटका साथै म्याग्दी जिल्लामा पर्याप्त जनशक्तिसहितको दरबन्दीको अभावले प्रभावकारी काम हुन सकेको छैन । उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीबजार संरक्षणका लागि पर्खाल बनाइए पनि स्काभेटरको प्रयोग गरी नदीको गर्भ खन्दा नदीले धार परिवर्तन गरी नदी गहिरिएको छ । कंक्रिट पर्खालले कटान रोक्ने भन्दै प्राकृतिक रुपमा नदीभित्र जमेर बसेका ढुंगा फुटाएर गरिएको अपारदर्शी मोडेलका कारण सदरमुकाम बेनी कालिगण्डकी र म्याग्दी नदीको जोखिममा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->