बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शहरको बसाई छाडेर थातथलोमा बाख्रापालन

शहरको बसाई छाडेर थातथलोमा बाख्रापालन


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०८१, सोमबार

बागलुङ/पन्ध्र वर्षदेखि सहर पसेकोले गाउँको खेतबारी बाँझीएको थियो । घर थोत्रो भैसकेको थियो । उनी विदेश गए, नेपालकै कतिपय योजनामा काम खोज्दै हिंडे । काम गरेपनि भनेजस्तो भएन । न त विदेशको कामले कमाइ दियो । त्यसपछि भने जैमिनी नगरपालिका ७ का कुशल रानाले आफ्नै छाडेको घर र बारी स्याहार्ने निधो गरे । बाबुबाजेकै थातथलो फर्केपछि उनको जीवनमा केही परिवर्तन आएको छ ।
गाउँ फर्केर पछिल्लो तीन वर्षदेखि उनले बाख्रापालन व्यवसाय शुरु गरे । यो व्यवसायले उनको जीवनमा राम्रो परिवर्तन आइसकेको छ । अहिले त कुशलले वार्षिक ७ लाख बढी कमाउन थालिसके । जैमिनी बोर गाउँका ३१ वर्षिय कुशल रानाले तीन वर्षदेखि बाख्रा पालेरै पुरानो ऋण तिरेर कमाइ गर्न थालिसकेको बताए । उनले जीर्ण घर मर्मत गर्दैछन् । ‘बोर बाख्रा फर्म’ बाट कुसलले मनग्ये कमाइ थालेका हुन् ।
गाउँको झण्डै २० रोपनी जमिनमा उनले डाले घाँस र उन्नत जातको घाँस रोपेका छन् । ‘वर्षौसम्म बैदेशिक रोजगारीमा बसेर केही भएन, बरु गाउँमै केही गर्न सकिन्छ भन्ने हिम्मत बटुलेर काम थालेको हँु’ उनले भने, ‘अब बाख्रा पालेरै लाखौं कमाउन सक्ने संभावना देखेको छु ।’ उनले अहिलेसम्म फर्ममा २० लाख बढी लगानी गरिसकेको बताए ।
रानाको फर्ममा अहिले ७० बाख्रा छन् । १ सय बोयर बाख्रा पु¥याउने उनको योजना छ । यतिबेला उनको फर्म बोयर बोका उत्पादन गर्ने स्थल बनिसकेको छ । कम्तिमा ५० माउ पु¥याउन सके वर्षमा १ सय बोका उत्पादन गर्न सकिने उनले बताए । एकवर्षे बोयर बोका बेचेर रानाले ४० देखि ५० हजार रुपैयाँसम्म कमाउन सकेको बताए ।
बोयरको मासु अन्य खसीबोकाको तुलनामा महंगो छ । उन्नत जातको घाँस खुवाउँदा एकै वर्षमा बोयरका बोका ७० केजीसम्म हुने कृषि प्राविधिकले बताए । ‘एउटा युवा गाउँमै बसेर केही काम गर्छु भनेर मेहेनत गरेको देखेपछि हामीले पनि साथ दिएका छौं’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले भने । परियोजनाले दिएको ५ लाखमा झण्डै ५ लाख लगानी थपेर उनले १० लाख बराबरको खोर बनाइसकेका छन् ।
उनको मेहेनतका लागि नगरपालिकाले ४२ हजार पर्ने मकै पिस्ने मिलमा ५० प्रतिशत अनुदान दिएको छ । त्यस बाहेक चापट मेसिनमा पनि परियोजनाबाटै रानाले अनुदान पाएका छन् । परियोजनासहित नगरपालिकाले पनि आधुनिकीकरणका लागि साथ दिएको नगर उपप्रमुख हरिहर शर्माले बताए । युवाले बैदेशिक रोजगारीबाट फर्केर राम्रो व्यवसाय गर्न खोज्दा साथ दिने नगरको नीति बनेको उनले बताए । काठमाण्डौंमा बस्दै आएका परिवारका सदस्यलाई पनि गाउँ फर्काउने तयारी गरेको रानाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->