बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हलगोरु पाल्ने किसानलाई प्रोत्साहन

हलगोरु पाल्ने किसानलाई प्रोत्साहन


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८१, मंगलबार

तस्बिर : कृष्ण संयोग/ढोरपाटन
बागलुङ/बागलुङ नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान रकम दिएको छ । सोमबार एक कार्यक्रमका बीच उपप्रमुख राजु खड्का, आर्थिक विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेल, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल लगायतले किसानलाई प्रोत्साहन रकम हस्तान्तरण गरे ।
बागलुङ नगरपालिकाले हलगोरु पालेर स्वरोजगार बनेका किसानलाई ५ हजार रुपैयाँ अनुदान दिएको हो । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा समावेश भएपछि नगरपालिकाले किसानको सूचिकरण बनाएको थियो ।
अनुदानका लागि सार्वजनिक सूचना प्रकाशित गरेर छनोटमा परेका ८१ जना किसानलाई ५ हजार रुपैयाँका दरले अनुदान दिएको पशु विकास शाखाका प्रमुख मित्रलाल सापकोटाले बताए । आवेदन भने १ सय ९ जनाले दिएका थिए ।
अनुदान पाएका बागलुङ नगरपालिका १० गलुवाका मकरसेन ठकुरीले किसानको लागि पनि नगरपालिकले साथ दिएको बताए । गोरु पालेर बसेका किसानलाई पनि चिन्ने प्रयास गरेकोमा नगरपालिकालाई धन्यवाद दिए । उनले कृषि उत्पादनमा लाग्नेहरुलाई साथ दिएमा युवाहरु विदेश नजाने बताए ।
‘वर्षौदेखि हलगोरु पालेर आप्नो खेतबारी खनजोत गरेका र छिमेकीलाई पनि साथ दिएर रोजगारीमा लागेकाहरु अनुदानको योग्य भएका हुन्’ सापकोटाले भने, ‘छुटेका किसान भएपनि खोजी गरी उनीहरुलाई प्रोत्साहन गर्नेछौं ।’ पहिलो चरणमा हलगोरु पालेर आत्मनिर्भर भएकाहरुलाई अनुदान दिइएको हो ।
एउटा गोरु पाल्ने वा नियमित कृषि पेशा अंगालेका किसानलाई क्रमशः अनुदान र प्रोत्साहनका कार्यक्रममा जोड्दै लैजाने नीति बनाएको उनले बताए । नगरपालिकाको आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलको संयोजकत्वमा हलगोरु पाल्ने किसानलाई प्रोत्साहन कार्यक्रम ल्याउन सुझाव दिएपछि नगरको नीति तथा कार्यक्रममा राखिएको थियो । पछिल्लो समय मिनि टेलर राखेर खेती गर्नेहरु बढेका छन् । जसका कारण गोरु लोप हुन लागेपछि यो कार्यविधि ल्याइएको हो ।
नगरपालिकाले एक वर्षदेखि किसानहरुको तथ्यांक संकलन गरेको छ । नगरप्रमुख बसन्त कुमार श्रेष्ठका अनुसार व्यवसायिक कृषि पेशा गरेका तथा न्युनतम भएपनि उत्पादनलाई बजार पठाउने ४ हजार ५ सय किसानको सूचिकरण गरिएको हो । उनीहरुलाई कुनै न कुनै राहत, अनुदान र प्रोत्साहनका कार्यक्रममार्फत स्वरोजगार बनाउने, बिदेश जानबाट रोक्ने र कृषिमा आत्मनिर्भर बनाउने नगरको योजना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->